नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको शनिबार नयाँ बानेश्वरमा बसेको बैठकले पार्टी एकता, सहकार्य र निर्वाचन तयारीलाई मुख्य एजेन्डा बनाउँदै विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । बैठकले विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहेका तथा पार्टी छाडेका सबै नेता–कार्यकर्तालाई पुनः कांग्रेसमा जोडिन आह्वान गरेको छ ।
बैठकपछि प्रवक्ता देवराज चालिसेले निर्वाचन आयोगले कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको परिप्रेक्ष्यमा यो निर्णय कसैको जित–हार नभई विधान र लोकतन्त्रको विजय भएको निष्कर्ष बैठकले निकालेको जानकारी दिए । उनले यस ऐतिहासिक प्रक्रियामा साथ दिने सबै सदस्य, शुभेच्छुक र सहयोगीप्रति केन्द्रीय समितिले आभार व्यक्त गरेको बताए ।
अबको समय एकता, सद्भाव र सहकार्यको भएको उल्लेख गर्दै बैठकले देश–विदेशमा रहेका सबै कांग्रेसजन, सबै तहका समिति तथा भ्रातृ र शुभेच्छुक संस्थाका नेता–कार्यकर्तालाई एकताबद्ध भएर फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सशक्त सहभागिता जनाउन आग्रह गरेको छ। पार्टीले कुनै पनि अप्राकृतिक गठबन्धन वा सत्ता केन्द्रित सम्झौता नगर्ने स्पष्ट पार्दै मूल्य र सिद्धान्तमा अडिग रहँदै संविधानको रक्षा र समृद्ध नेपालको नेतृत्व गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ।
बैठकले निवर्तमान सभापति शेरबहादुर देउवा लगायत कांग्रेसको नेतृत्वमा रही लामो समय योगदान पुर्याएका नेताहरूको भूमिकाको उच्च कदर गर्दै आभार व्यक्त गरेको छ। साथै, देउवाको अभिभावकीय भूमिका आगामी दिनमा पनि पार्टीका लागि आवश्यक रहने विश्वास व्यक्त गरिएको छ।
यता, विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि कांग्रेस सभापति गगन थापालाई बधाई दिन र चुनावी आकांक्षा व्यक्त गर्न जिल्ला–जिल्लाबाट नेताहरूले फोन गर्न थालेका छन्। कांग्रेसले क्षेत्रीय, जिल्ला र प्रदेश समितिबाट सिफारिस भई आएका उम्मेदवारका आकांक्षीमध्येबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तय गरिने जनाएको छ।
सभापति थापासहित १३ पदाधिकारी रहने गरी संसदीय बोर्ड गठन भइसकेको र उम्मेदवार छनोटसम्बन्धी छलफल अघि बढेको प्रवक्ता चालिसेले बताए। उनका अनुसार पार्टी अहिले पूर्ण रूपमा निर्वाचनकेन्द्रित तयारीमा जुटेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ।
यसैबीच, निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने तयारीमा छ। सानेपामा बसेको उक्त समूहको बैठकले निर्वाचन आयोगको निर्णयलाई दुराशयपूर्ण ठहर गर्दै संवैधानिक, कानुनी तथा राजनीतिक उपचार खोज्ने निर्णय गरेको जनाएको छ। नेता प्रकाशशरण महतले आयोगले विशेष महाधिवेशनको औचित्य र वैधानिकता नहेरी एकलौटी रूपमा निर्णय गरेको दाबी गरेका छन्।
पार्टीभित्र देखिएको असहमतिका बीच पनि सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले निवर्तमान सभापति देउवासँग निरन्तर संवाद भइरहेको र कांग्रेस देउवाकै अभिभावकत्वमा निर्वाचनमा जाने दाबी गरेका छन्। उनले टिकट वितरणमा पक्षपात नहुने र विशेष महाधिवेशनको विरोध गर्नेहरूले पनि समान अवसर पाउने बताए।
कांग्रेस केन्द्रीय समितिले सबैलाई समेट्दै पार्टीलाई एकताबद्ध र बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचन र चुनौतीहरू सामना गर्न आपसी सद्भाव र सहकार्य अपरिहार्य भएको निष्कर्ष निकालेको छ।








