४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

स्वास्थ्यका पूर्वअतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा ५ लाख धरौटीमा रिहा



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगीता कौशल मिश्रासँग विशेष अदालतले ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर गरिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले बुधबार मिश्रासँग धरौटी माग गर्ने आदेश दिएको हो । बुधबार बिहान अदालतमा उपस्थित भएकी मिश्रालाई विशेष अदालतका न्यायाधीशहरू नारायण पौडेल, डिल्लीरत्न श्रेष्ठ र बिदुर कोइरालाको इजलासले थुनछेक बहसपछि तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार देखाउँदै धरौटी मागेको थियो। अदालतले मागेको उक्त धरौटी बुझाएर उनी सोही दिन रिहा भएकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १ कात्तिक २०८२ मा डा. मिश्रासहित १४ जनाविरुद्ध १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। यस प्रकरणमा व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवणकुमार थापा, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्रकुमार चौरसिया, विभागका निर्देशक डा. विवेककुमार लाल, तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले र कानुन अधिकृत सीता घिमिरेलाई प्रतिवादी बनाइएको छ। त्यसैगरी वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक अधिकारी, तत्कालीन शाखा अधिकृत यादवप्रसाद सापकोटा, लेखा अधिकृत शम्भूप्रसाद ढकाल, लेखापाल तिलकराम ढकाल, बायोमेडिकल इन्जिनियरहरू आशिष चौहान र पद्मा मिश्र, जनस्वास्थ्य निरीक्षक सन्जयकुमार शाह तथा आपूर्ति कम्पनी म्याक्सिम इन्कर्पोरेसनका प्रमुख सुन्दर भुसालमाथि पनि जनही सोही बराबरको बिगो दाबीसहित मुद्दा चलाइएको छ।

पछिल्लो समय सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चा चुलिएपछि डा. मिश्राले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्। तर मन्त्री पदमा नियुक्ति हुनुअघि नै भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेको तथ्य खुलेपछि अन्तिम समयमा उनको राजनीतिक यात्रामा पूर्णविराम लागेको थियो। स्वास्थ्य उपकरण खरिद प्रक्रियामा करोडौँको अनियमितता गरेको गम्भीर आरोप लागेपछि उनी कानुनी कठघरामा उभिनु परेको हो।

प्रकाशित मिति : ८ माघ २०८२, बुधबार  ९ : २० बजे