प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि दर्ता गरेको उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा आज उनको तर्फबाट प्रतिनिधि नारायण खत्रीले फिर्ता निवेदन दिएका हुन्।
भट्टराईले यसअघि निर्वाचन नलड्ने घोषणा गरेका थिए तर माघ ४ गते गोरखा पुगेपछि पार्टीका अगुवा कार्यकर्ता तथा स्थानीय मतदाताको चर्को दबाबमा परेका थिए। छेवेटारमा आयोजित अगुवा कार्यकर्ता भेलामा सहभागीहरूले “उम्मेदवार नबने संगठनमा बस्न सकिँदैन” सम्मको चेतावनी दिएपछि उनी राजी भएका थिए। माघ ५ गते पत्रकार सम्मेलन गर्दै उनले “पार्टीका साथीहरू, अन्य दलका नेता तथा मतदाताको सल्लाहअनुसार उम्मेदवारी दिन लागेको” बताएका थिए।
माघ ६ गते प्रलोपाका कार्यकर्ताको घेरामा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका भट्टराईले त्यसै दिन कांग्रेस उम्मेदवार प्रकाशचन्द्र दवाडीसँग जम्काभेट गरे। दवाडीले २०७४ मा कांग्रेसको सहयोग प्राप्त गरेको स्मरण गर्दै यसपटक सहयोगको आग्रह गरेका थिए। तर भट्टराईले आफ्नो जिद्दी कायम राखे। दर्तापछि गोरखा दरबारसम्म पुगेर चुनावी अभियानको सन्देश दिएर उनी काठमाडौं फर्किएका थिए।
तर, उम्मेदवारी दर्तापछि राजनीतिक गणित र परिस्थितिले फेरि उल्टो मोड लिएको थियो। गोरखा–२ मा भट्टराईको पुरानो विरासत भए पनि पुराना अधिकांश कार्यकर्ता साथ छोडिसकेका छन्। पालुङटारका ३ वटा वडामा मात्र प्रलोपाका अध्यक्ष छन्। जित्ने अंकगणित हेरेर अन्य दलसँग गठबन्धनको प्रयास गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (नेकपा)बाट ‘ग्रिन सिग्नल’ नपाएपछि उनी पछि हटेका हुन्।
रास्वपा उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत भट्टराईलाई “उम्मेदवारी फिर्ता लिएर अनुकरणीय देशभक्तिपूर्ण उदाहरण प्रस्तुत गर्न” आग्रह गरेका थिए। फेसबुक लाइभमार्फत भट्टराईले भने, “सांसद मात्र हुनुभन्दा सबैको चाहनाअनुसार बाहिर रहेर अभिभावक बन्नु उपयुक्त ठानेर उम्मेदवारी फिर्ता लिएको छु। मुलुकलाई तीव्र आर्थिक समृद्धिको दिशामा लैजान संसद्बाहिरबाट दलहरूलाई सघाउने र आवश्यक परे सल्लाह–सुझाव दिने भूमिका निर्वाह गर्नेछु। अग्रगामी दलले चाहे अनुसार सहयोग जारी राख्नेछु।”
२०६४ मा माओवादीबाट ४६ हजार मत (८३ प्रतिशत) ल्याएर ४० हजार मतान्तरसहित विजयी भएका भट्टराई २०७४ मा कांग्रेस गठबन्धनबाट ३१ हजार ८०७ मतसहित जितेका थिए। २०७९ मा प्रचण्डलाई सहयोग गरेका उनी यसपटक आफैं मैदानमा उत्रिएका थिए तर पुरानो रेकर्डलाई धक्का पुग्ने देखेपछि पछि हटेका छन्।
प्रलोपाबाट गोरखा–१ का गोपालबाबु श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका छन्। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीका अनुसार भट्टराईको फिर्तासँगै क्षेत्रमा उम्मेदवार संख्या घटेको छ।
१० माघ २०८२, शुक्रबार
6
Shares








