५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

निर्वाचन आयोगले हटायो समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवार



निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले पेस गरेको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारविरुद्ध परेका उजुरी, उनीहरूको योग्यता, कर्जा सूचना केन्द्रको विवरण तथा विभिन्न राजनीतिक दलबाट प्राप्त जानकारीका आधारमा नाम हटाउने निर्णय गरिएको हो ।

आयोगका अनुसार कर्जा सूचना केन्द्रको विवरणका आधारमा २१ जना र निर्वाचन आयोगको जरिवाना नबुझाएका १० जना गरी ३१ जनाको नाम हटाइएको छ । त्यस्तै, प्रदेशसभा बन्दसूचीतर्फ नाम कायम भएका २५ जना, २५ वर्ष उमेर नपुगेका ४ जना, मतदाता नामावलीमा नाम नभएका १ जना, पिछडिएको क्षेत्रका मतदाता नपरेका २ जना, महिलाको कोटामा पुरुष उम्मेदवार पेस गरिएको १ जना, राजनीतिक दलकै अनुरोधमा १० जना तथा अन्य कारणबाट २ जनाको नाम बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ ।

कालोसूचीमा परेका उम्मेदवार

कालोसूचीमा परेकामध्ये आम जनता पार्टी र जनादेश पार्टी नेपालका संयुक्त उम्मेदवार बसुन्धरादेवी चौधरी, रहेना खातुन र लक्ष्मीदेवी शाह रहेका छन् ।
त्यस्तै, जनता समाजवादी पार्टीकी कमला खत्री, जनमत पार्टीका हिरोइनकुमारी शाह, गजेन्द्रकुमार मेहत्ता र मोहमद असदुल्लाह, जय मातृभूमि पार्टीका सुमित राई, राजु मिजार र प्रीति गुप्ता पटेल, नागरिक शक्तिकी लक्ष्मी श्रेष्ठ, नेकपा (माओवादी) की जाहेरा बानु, नेपाल जनता पार्टीकी प्रतिमादेवी यादव, नेपाल सद्भावना पार्टीकी सुनितादेवी दास, मितेरी पार्टीका भुवन औजी, गायत्री राई र सुनिता पौडेल, राष्ट्रिय एकता दलका दीपक चौधरी, राष्ट्रिय जनमोर्चाका विकाराम चौधरी र सुनिताकुमारी कुर्मी रहेका छन् ।

आयोगको जरिवाना नबुझाउने

जरिवाना नबुझाउनेमा राष्ट्रिय परिवर्तन पार्टीका राजदेव राम, नेपाल सद्भावना पार्टीका राजकुमार राजवंशी र शम्भूकुमार सिंह, जनमत पार्टीका सत्यदेव चौधरी, मितेरी पार्टी नेपालकी सुमित्रा मण्डल, जनता समाजवादी पार्टी नेपालका शिवजी यादव, आम जनता पार्टी र जनादेश पार्टी नेपालका संयुक्त उम्मेदवार रामनरेश महत्तो कोइरी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जसपा र नागरिक उन्मुक्ति पार्टी नेपालका संयुक्त उम्मेदवार सूर्यमल यादव, श्रम संस्कृति पार्टीका राजेन्द्रप्रसाद साह र राष्ट्रिय मुक्ति पार्टी नेपालका राम नरेश राय रहेका छन् ।

२५ वर्ष उमेर नपुगेका

२५ वर्ष उमेर नपुगेकामा प्रजातान्त्रिक पार्टीकी पूजाकुमारी चौधरी, उन्नत लोकतन्त्र पार्टीकी प्रियंका शर्मा, नेपाली जनता दलकी अस्मिता माया जिम्बा र आम जनता पार्टी तथा जनादेश पार्टी नेपालका संयुक्त उम्मेदवार मुना प्रधान रहेका छन् ।

मतदाता नामावलीमा नाम नभएका

मतदाता नामावलीमा नाम नभएका उम्मेदवारका रूपमा नेपाली जनता दलका तिलक जोशी यादवको नाम हटाइएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०८२, सोमबार  १० : ५८ बजे