छिमेकी देशमा देखिएको निपाह भाइरस संक्रमणको जोखिम नेपालमा हाल न्यून रहे पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार विज्ञप्ति जारी गर्दै छिमेकी देशमा देखिएका घटनालाई मध्यनजर गरी पूर्वतयारीका कदमस्वरूप देशभरका स्वास्थ्य संस्था तथा निकायहरूलाई सतर्क गराइएको जनाएको छ । साथै, निपाह भाइरसको परीक्षणका लागि अन्तरिम तयारी गरिएको पनि महाशाखाले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी तथा दक्षिण–पूर्वी एसिया क्षेत्रीयस्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्यांकन गरे पनि मन्त्रालयले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा. प्रकाश बुढाथोकीले नागरिकहरूको स्वास्थ्य सुरक्षाका लागि मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको र आवश्यक सबै कदमहरू चालिरहेको बताए ।
प्रवक्ता डा. बुढाथोकीले भने, “आत्तिनुपर्ने अवस्था छैन, तर सतर्क रहनुपर्छ ।” उनले फलफूल राम्ररी पखालेर मात्र खाने, तरकारी राम्रोसँग पकाएर खाने, सफा र सुरक्षित पानी उमालेर मात्र पिउने, जनावरका गोठ तथा फार्म सफा राख्ने, मासु काट्दा पन्जा र मास्क प्रयोग गर्ने, बेला–बेलामा साबुनपानीले हात धुने तथा भीडभाडमा जाँदा मास्क लगाउनेजस्ता जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरे ।
उनका अनुसार निपाह भाइरस संक्रमित चमेराको र्याल, पिसाब वा मलमूत्रले दूषित फलफूल सेवन गर्दा संक्रमण हुन सक्छ । साथै, सङ्क्रमित व्यक्तिको रगत, थुक, पिसाब वा नजिकको सम्पर्कबाट तथा चमेराबाट सुँगुर हुँदै मानिसमा संक्रमण सर्न सक्ने जोखिम पनि रहेको छ ।
ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, बान्ता हुने तथा गम्भीर अवस्थामा होस हराउनेजस्ता शंकास्पद लक्षण देखिएमा बिरामीको शीघ्र पहिचान, आइसोलेसन, रिपोर्टिङ तथा संक्रमण रोकथाम तथा नियन्त्रणका मापदण्ड कडाइका साथ पालना गर्न स्वास्थ्य मन्त्रालयले सबैसँग अनुरोध गरेको छ । कुनै शंकास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।









