निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । आयोगको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले ६३ राजनीतिक दलका तर्फबाट प्रस्तावित उम्मेदवारहरूको नामावलीलाई अन्तिम रूप दिँदै सार्वजनिक गर्ने निर्णय गरेको हो ।
आयोगले सार्वजनिक गरेको अन्तिम सूचीमा कुल ३ हजार १३५ उम्मेदवारहरू कायम भएका छन्। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार यसपटक पुरुषको तुलनामा महिला उम्मेदवारको संख्या बढी रहेको छ । जसमा १ हजार ७३२ महिला र १ हजार ३६३ पुरुष उम्मेदवार रहेका छन् । संवैधानिक र कानुनी व्यवस्थाअनुसार दलहरूले बुझाएको बन्दसूचीमा खस आर्य, आदिवासी जनजाति, थारू, दलित, मधेशी र मुस्लिम समुदायको क्लस्टर मिलाउनुपर्ने प्रावधानलाई आयोगले कडाइका साथ जाँचबुझ गरी अन्तिम टुङ्गो लगाएको हो ।
यसअघि दलहरूले पेस गरेको सुरुवाती सूचीमा देखिएका दोहोरो नाम, उम्मेदवारविरुद्ध परेका दाबी–विरोध तथा कागजात अपुग भएका नामहरूलाई हटाएर यो विवरण सार्वजनिक गरिएको हो । आयोगले बन्दसूचीको विस्तृत विवरण र उम्मेदवारहरूको व्यक्तिगत विवरण आफ्नो आधिकारिक वेबसाइटमा समेत उपलब्ध गराएको छ ।
नेपालको मिश्रित निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये ११० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ । यस प्रणालीमा मतदाताले कुनै व्यक्ति विशेषलाई नभई राजनीतिक दललाई मतदान गर्छन् र दलहरूले प्राप्त गरेको कुल सदर मतका आधारमा सिट बाँडफाँड गरिन्छ ।
निर्वाचन ऐन, २०७४ अनुसार दलहरूले कुल उम्मेदवारमध्ये कम्तीमा ५० प्रतिशत महिला र तोकिएको जनसंख्याको अनुपातमा जातीय क्लस्टर मिलाउनु अनिवार्य हुन्छ । आयोगले अन्तिम सूची सार्वजनिक गरेसँगै समानुपातिकतर्फका उम्मेदवारहरूलाई निर्वाचन प्रचारप्रसार गर्ने बाटो खुलेको छ । यद्यपि, अब बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन पाउने छैनन् ।









