२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

नेकपा एमालेको ओलीलाई जिताउनु पर्ने ३० बुँद



काठमाडौं महानगरका निवर्तमान मेयर तथा युवा आइकोन बालेन शाहसँग चुनाव लडिरहेका एमाले अध्यक्ष केपी ओलीलाई जिताउनु पर्ने ३० बुँदा झापा एमालेले सार्वजनिक गरेको छ ।

नेकपा एमाले झापा–५ नम्बर क्षेत्रीय कमिटीले आगामी निर्वाचनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीका पक्षमा मतदान गर्न आह्वान गर्दै उक्त ३० बुँदा सार्वजनिक गरेको हो ।

‘केपी शर्मा ओलीलाई नै भोट किन?’ शीर्षकको उक्त अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षादेखि खस्किएको जनमनोबल उच्च बनाउन ओलीसँगै विकल्प नरहेको जिकिर गरिएको छ। देशमा व्याप्त त्रासको वातावरण अन्त्य गरी नागरिकको शान्ति सुरक्षाको ग्यारेन्टी गर्नका लागि ओलीलाई अत्याधिक मतले जिताउनुपर्ने एमालेको दाबी छ ।

एमालेले सार्वजनिक गरेको अपिलमा झापा क्षेत्र नम्बर ५ मा सुरु गरिएका विकासका अधुरा योजनाहरूलाई पूर्णता दिन ओलीको विजय अनिवार्य रहेको उल्लेख गरिएको छ। विशेष गरी सुस्ताएको राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन, कृषि क्षेत्रको आधुनिकीकरण गरी मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन र नवयुवाहरूलाई प्राविधिक शिक्षा प्रदान गरी स्वरोजगारका अवसर सिर्जना गर्नका लागि पनि ओलीलाई नै मतदान गर्न आग्रह गरिएको छ।

विकास निर्माणका ठूला आयोजनाहरूलाई प्राथमिकतामा राख्दै एमालेले निर्माणाधीन एशियन हाइवे, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी सडकका बाँकी काम सम्पन्न गर्न ओलीको नेतृत्व आवश्यक रहेको बताएको छ। अपिलमा नेपाल–चीन मैत्री औद्योगिक पार्कको निर्माण कार्य पुरा गर्न र दमक, गौरादह तथा गौरीगञ्ज जस्ता बजारहरूलाई आधुनिकीकरण गर्दै ‘स्मार्ट सिटी’का रूपमा विकास गर्ने प्रतिवद्धता समेत जनाइएको छ। यसका साथै भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका दशकौँदेखिका समस्या समाधान गर्नका लागि पनि यसपटक ओलीलाई नै निर्वाचित गराउन एमालेले मतदातासमक्ष विशेष अपिल गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  १० : ३० बजे