आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आवश्यक निर्वाचन सामग्रीहरूको ढुवानी प्रक्रियालाई तीव्रता दिएको छ ।
मतदान प्रयोजनका लागि पूर्वनिर्धारित ५२ प्रकारका सामग्रीमध्ये रबर म्याटलाई हटाएर ५१ प्रकारका सामग्रीहरू मात्र जिल्ला-जिल्लामा पठाउन सुरु गरिएको हो। आयोगले हाल मतदाता नामावली, मतपत्र, नउड्ने मसीको मार्कर, स्वस्तिक छाप, स्ट्याम्प प्याड र मसी लगायतका आवश्यक सामग्रीहरू खरिद गरी ढुवानी कार्य अगाडि बढाएको छ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार भौगोलिक रूपमा विकट मानिने कर्णाली प्रदेशका केही जिल्लाहरूमा सामग्रीहरू पठाइसकिएको छ भने केही जिल्लामा पुग्ने क्रममा रहेका छन्। कर्णालीबाहेक कोसी प्रदेश र अन्य जिल्लाहरूका लागि पनि सामग्री पठाउने तयारी अन्तिम चरणमा पुगेको छ। “हामीले कर्णाली प्रदेशका केही जिल्लाहरूमा सामग्री पठाइसकेका छौँ। ती बाहेक कोशी र अन्य थप जिल्लाहरूमा पनि पठाउने तयारी भइरहेको छ,” सूचना अधिकारी घिमिरेले भने, “आयोगमा प्राप्त भइरहेका सामग्रीहरू जाँचबुझ गरी तुरुन्तै ढुवानी गर्ने कार्य निरन्तर चलिरहेको छ।”
आयोगले आगामी फागुन पहिलो हप्तासम्ममा अधिकांश जिल्लाहरूमा निर्वाचन सामग्री पुर्याइसक्ने लक्ष्य राखेको छ। सामग्री प्राप्त हुने क्रम जारी रहेकाले प्राप्त हुनासाथ गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको आयोगको भनाइ छ।
यसैबीच, मतपत्र छपाईको काम पनि अन्तिम चरणमा पुगेको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रहरूको छपाई र प्याकिङ सम्पन्न भइसकेको छ। पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ हालसम्म ६६ वटा जिल्लाका १ सय ४२ निर्वाचन क्षेत्रका लागि मतपत्र छपाई भइसकेको छ। बाँकी रहेका मतपत्रहरू आगामी आइतबारसम्ममा छापिसक्ने आयोगको तयारी छ।
कर्णाली प्रदेशका लागि भने मतपत्रहरू ढुवानी भइसकेका छन्। ती मतपत्रहरू आइतबार साँझसम्ममा सम्बन्धित जिल्लाका सदरमुकामहरूमा पुग्ने गरी व्यवस्थापन मिलाइएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो।








