जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण प्रक्रिया सुस्त देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा दुई हजार ५९९ जना घाइते भएको तथ्याङ्क रहे तापनि हालसम्म सरकारी स्तरबाट दुई सय जनाको मात्रै वर्गीकरण विवरण प्राप्त भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले उपलब्ध गराएको जानकारी अनुसार कात्तिक र मंसिर महिनामा १८३ जना, पुसमा १६ जना र माघ महिनामा एक जना घाइतेको मात्र वर्गीकरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयहरूले घाइतेको विवरण पठाउनुपर्ने कानुनी व्यवस्था भए तापनि पटकपटक सूचना जारी गर्दा समेत धेरै घाइतेहरू सम्पर्कमा नआएका कारण वर्गीकरणको सङ्ख्या न्यून देखिएको मन्त्रालयको भनाइ छ ।
धेरै संख्यामा घाइते भए पनि सामान्य चोटपटक लागेकाहरूलाई विशेष सरकारी सुविधा उपलब्ध नहुने प्रावधानका कारण पनि उनीहरू सम्पर्कमा नआएको हुनसक्ने अनुमान गरिएको छ । मन्त्रालयले अब निश्चित अवधि तोकेरै बाँकी घाइतेहरूको विवरण सङ्कलन र वर्गीकरण गर्ने तयारी गरेको छ ।









