सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) को कसुरमा संलग्न रहेको अभियोगमा दुई जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्ने कलबहादुर बस्नेत र रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ का अमित बस्नेतविरुद्ध फागुन ४ गते अभियोगपत्र दायर गरिएको हो ।
अनुसन्धानका क्रममा प्रतिवादीहरूले मानव बेचबिखन, ठगी तथा वैदेशिक रोजगार सम्बन्धी अवैध कार्य गरी ठुलो रकम आर्जन गरेको खुलेको बताइएको छ । उनीहरूले करिब २५० जना नेपाली नागरिकलाई गैरकानुनी बाटोबाट विभिन्न देश हुँदै अमेरिका प्रवेश गराएको र कतिपयलाई अमेरिका लैजाने प्रलोभन देखाई विभिन्न मुलुकमा अलपत्र पारेको पाइएको अभियोगमा उल्लेख छ । यसरी अवैध बाटोबाट संकलन गरिएको रकमलाई उनीहरूले विभिन्न बैंक खाता र नगदमार्फत शुद्धीकरण गरेको प्रहरीको ठहर छ ।
मुद्दा दायर गरिएकामध्ये कलबहादुर बस्नेत हाल मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा रहेका छन् भने अमित बस्नेत फरार रहेका छन् । सम्पत्ति शुद्धीकरण निवारण विभाग र प्रहरीको अनुसन्धानले कलबहादुरको नाममा ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ र अमितको नाममा २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँ गरी कुल ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ बराबरको बिगो कायम गरेको छ ।
अभियोगपत्रमा कायम गरिएको बिगोको दोब्बर जरिवाना र कसुरको गम्भीरता हेरी दुईदेखि १५ वर्षसम्म कैद सजायको मागदाबी गरिएको छ। साथै, प्रतिवादीहरूका नाममा रहेका घरजग्गा, बैंक मौज्दात तथा बीमा रकम समेत जफत गर्न माग गरिएको सूचना अधिकारी लिम्बूले बताउनुभयो। यो मुद्दालाई पछिल्लो समयको ठुलो आर्थिक अपराध र मानव तस्करीसँग जोडिएको सम्पत्ति शुद्धीकरणको घटनाका रूपमा लिइएको छ।








