२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

पश्चिम नवलपरासीमा विप्लबको उम्मेदवारमाथि कुटपिट



फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका राजु हरिजनमाथि कुटपिट भएको छ ।

विप्लव नेतृत्वको नेकपा माओवादीका तर्फबाट चुनावी मैदानमा रहेका हरिजनमाथि निर्वाचन प्रचारप्रसारकै क्रममा बर्दघाट नगरपालिका–जमुनियामा आक्रमण भएको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठका अनुसार मंगलबार दिउँसो करिब ५ बजे मतदाता भेटघाट गर्दै हिँडेका हरिजनमाथि दुई जना युवाले हातपात गरेका थिए ।

निर्वाचन प्रचारका लागि गाडीमा माइकिङ गर्दै हिँडिरहेका बेला ती युवाहरूले ‘यो हाम्रो एरिया हो, यहाँ प्रचारप्रसार नगर्नू’ भन्दै कुटपिट गरेको प्रहरीले जनाएको छ। घटनाको भिडियो समेत सार्वजनिक भएको छ, जसमा हरिजनमाथि दुई युवाले आक्रमण गरिरहेको देखिन्छ।

कुटपिटपछि हरिजनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । प्रहरी उपरीक्षक श्रेष्ठले हरिजनले अज्ञात समूहविरुद्ध उजुरी दिएको जानकारी दिँदै आक्रमणकारीको खोजी भइरहेको बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ११ : १० बजे