२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

बेलायती राजाका भाइ एन्ड्रयू पक्राउ पछि रिहा



सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा पक्राउ परेका एन्ड्रयू माउन्टब्याटन-विन्डसरलाई पक्राउ पछि रिहा गरिएको छ ।

थेम्स भ्याली प्रहरीले बिहीबार बिहान ६० वर्षका एक व्यक्तिलाई नोर्फोकबाट पक्राउ गरी बर्कशायर र नोर्फोकका विभिन्न ठेगानामा खानतलासी गरेको थियो ।

पक्राउ परेका व्यक्ति एन्ड्रयू नै भएको पुष्टि गर्दै प्रहरीले बिहीबार साँझ उनलाई “अनुसन्धानको दायरामा रहने गरी” (रिलिज अन्डर इन्भेस्टिगेसन) रिहा गरेको जानकारी दिएको छ ।

पक्राउ परेपछि उनलाई आयल्शम प्रहरी चौकीबाट बाहिरिँदै गर्दा एउटा सवारी साधनको पछाडिको सिटमा बसिरहेको अवस्थामा देखिएको थियो । एन्ड्रयू पक्राउ परेको यो पहिलो पटक हो, यद्यपि उनले आफूमाथि लागेका सबै आरोपहरूलाई निरन्तर र कडा रूपमा अस्वीकार गर्दै आएका छन् ।

एन्ड्रयूको पक्राउका सम्बन्धमा बेलायती राजा चार्ल्स तृतीयले प्रतिक्रिया दिँदै “कानुनले आफ्नो बाटो लिने” र प्रहरीलाई आफ्नो “पूर्ण र हार्दिक समर्थन तथा सहयोग” रहने बताएका थिए ।

यसअघि प्रहरीले एन्ड्रयू र दिवङ्गत यौन अपराधी जेफ्री एप्स्टिनबीचको सम्बन्धका साथै उनले गोप्य सामग्रीहरू साझा गरेको भनिएका आरोपहरूमाथि अनुसन्धान गर्ने विषयमा विचार गरिरहेको बताएको थियो।

अमेरिकी सरकारले सार्वजनिक गरेका फाइलहरूको एउटा अंशमा यी दुईबीच भएका सञ्चारका विवरणहरू समेत समावेश थिए। थेम्स भ्याली प्रहरीले विस्तृत मूल्याङ्कनपछि मात्रै यस घटनामा औपचारिक अनुसन्धान सुरु गरिएको स्पष्ट पारेको छ।

प्रहरीले फेब्रुअरीको सुरुमा अर्को एउटा छुट्टै आरोपको पनि अध्ययन गरिरहेको बताएको थियो। जसमा सन् २०१० मा एप्स्टिनले एन्ड्रयूसँगको यौन सम्पर्कका लागि एक विदेशी महिलालाई बेलायत पठाएको दाबी गरिएको छ, जो त्यतिबेला २० वर्षकी थिइन् ।

बिहीबार बिहान ग्रीनविच समय अनुसार ८ बजे स्यान्ड्रिङ्घमबाट गरिएको यो पक्राउ भने कुनै यौन अपराधको आरोपसँग सम्बन्धित नरहेको प्रहरीले स्पष्ट पारेको छ। बीबीसीका अनुसार थेम्स भ्याली प्रहरीले एन्ड्रयूलाई पक्राउ गर्नुअघि गृह मन्त्रालयलाई यसबारे अग्रिम जानकारी समेत गराएको थियो। हाललाई नोर्फोकमा गरिएको खानतलासी कार्य सम्पन्न भएको र अनुसन्धान प्रक्रिया अघि बढिरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ८ : ३४ बजे