संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि मध्यपूर्व क्षेत्र व्यापक तनावमा फसेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध “ठूला युद्ध अभियान” सुरु गरिएको घोषणा गरेका छन् । इजरायलले पनि इरानका विभिन्न सैन्य संरचनामाथि मिसाइल आक्रमण गरेको जनाएको छ ।
इरानले तत्कालै जवाफी कारबाही गर्दै इजरायलसहित अमेरिकाका क्षेत्रीय बेशहरूलाई निशाना बनाएको जनाएको छ । कतार, यूएई, कुवेत, बहराइन, साउदी अरेबिया, जोर्डन, सिरिया र इराकमा विस्फोट घटनाहरू सार्वजनिक भएका छन् ।
कतारको राजधानी दोहामा बिहानदेखि पटक–पटक विस्फोटको आवाज सुनिएको अल जजिराले जनाएको छ । प्रतिरक्षा प्रणाली प्याट्रियट र थाडमार्फत आकाशमै मिसाइलहरू अवरोध गरिएको देखिएको छ । पछिल्ला ३० मिनेटमा ७–८ वटा विस्फोट भएको विवरण सार्वजनिक भएको छ ।
यूएईको दुबईस्थित पाम जुमेराह क्षेत्रमा भएको एक घटनामा चार जना घाइते भएका छन् । दुबई सिभिल डिफेन्सले आगो नियन्त्रणमा आएको जनाएको छ । दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै प्रक्षेप्य खसेको तस्बिरहरू सार्वजनिक भएका छन् ।
कुवेत अन्तर्राष्ट्रिय विमानस्थल पनि ड्रोन आक्रमणको निशानामा परेको छ । सामान्य घाइते र सीमित भौतिक क्षति भएको कुवेती नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
स्रोतहरूका अनुसार केन्द्रीय इजरायलका दुई क्षेत्रमा इरानी मिसाइल खसेको प्रारम्भिक जानकारी छ । हालसम्म मानवीय क्षतिको पुष्टि भएको छैन । तेल अवीव र हैफा क्षेत्रमा साइरन बजाइएको छ । इजरायली सेनाले इरानभित्र “मिसाइल लन्चरहरू” लक्षित गरी नयाँ हवाई आक्रमण सुरु गरेको जनाएको छ ।
यसबीच इजरायली प्रधानमन्त्री बेञ्जमिन नेतन्याहु र अमेरिकी राष्ट्रपति ट्रम्पबीच टेलिफोन वार्ता भएको इजरायलको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
इरानले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् र महासचिव एन्टोनियो गुटरेजलाई पत्र पठाउँदै अमेरिका–इजरायलको कदमलाई “अवैध आक्रमण” भन्दै आपतकालीन बैठक बोलाउन आग्रह गरेको छ । पत्रमा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामाथि गम्भीर खतरा उत्पन्न भएको उल्लेख छ ।
फ्रान्सले पनि शनिबार सुरक्षा परिषद्को बैठक बोलाउन अनुरोध गरेको जनाएको छ ।
महासचिव गुटेरेसले तत्काल युद्धविरामको आह्वान गर्दै चेतावनी दिएका छन्, “युद्ध रोक्न नसकिए क्षेत्रीय द्वन्द्व अझै व्यापक भई नागरिक र स्थायित्वमा गम्भीर असर पर्न सक्छ ।”
बेलायती प्रधानमन्त्री केइर स्टर्मरले बेलायत आक्रमणमा संलग्न नभएको स्पष्ट पारेका छन् । तर क्षेत्रीय साझेदारहरूको सुरक्षाका लागि रक्षात्मक क्षमताहरू सुदृढ गरिएको र बेलायती सैन्य विमानहरू आकाशमा सक्रिय रहेको बताएका छन् ।
जर्मनीले बहराइन, इराक, इजरायल, जोर्डन, कतार, कुवेत, ओमान, साउदी अरेबिया र यूएईका लागि यात्रा चेतावनी जारी गरेको छ ।
रुसले आक्रमणलाई “लापरवाह र पूर्वनियोजित” भन्दै आलोचना गरेको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले सुरक्षा परिषद्सँग छलफल गरेका छन् । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ र इरानी विदेशमन्त्रीबीच पनि टेलिफोन वार्ता भएको छ । बुशेहर आणविक ऊर्जा केन्द्रमा क्षति नभएको जनाइए पनि त्यहाँ कार्यरत रुसी प्राविधिकहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।








