२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

दुर्गा प्रसाईं पाँच दिन हिरासतमा, निर्वाचन बिथोल्ने अभिव्यक्तिपछि पक्राउ



निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईं पाँच दिन हिरासतमा बस्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको हो ।

अनुमतिसँगै प्रसाईं अब फागुन २२ गतेसम्म प्रहरी हिरासतमा रहनेछन् । प्रतिनिधि सभा सदस्यको निर्वाचन फागुन २१ गते तय भएको छ ।

उनी आइतबार बिहान भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जगेबुका अनुसार पक्राउ गर्नुअघि प्रसाईंलाई विधिवत् पक्राउ पुर्जी थमाइएको थियो । पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख गरिएको छ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’का अगुवा प्रसाईंले पछिल्लो समय चुनाव बिथोल्ने अभिव्यक्ति दिँदै आएका थिए । राजावादी अभियन्ताका रूपमा परिचित उनी यसअघि पनि पटक–पटक पक्राउ र रिहा हुँदै आएका छन् ।

पछिल्लोपटक उनी फागुन ४ गते पक्राउ परेका थिए । गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी उमा प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालत का न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले फागुन १३ गते थुनामुक्त गर्न आदेश दिएको थियो, जसअनुसार उनी रिहा भएका थिए ।

विवादास्पद मेडिकल व्यवसायी प्रसाईंका मागका विषयमा सरकारले पटक–पटक वार्ता गरे पनि उनले आफ्ना माग पूरा नभएको बताउँदै आएका छन्। प्रहरीले भने हाल सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ८ : ४१ बजे