२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

इरानी आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु, उच्च सतर्कता रहन नेपाली दूतावासहरुलाई निर्देशन



यूनाइटेड अरव इमिरेट्समा इरानबाट गरिएको आक्रमणमा एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ । यूएइको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नेपाल, बंगलादेश र पाकिस्तानका एक–एक जना नागरिकको ज्यान गएको हो ।

आक्रमणमा ५८ जना घाइते भएका छन् । घाइते हुनेमा यूएई, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, एरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिक रहेका मन्त्रालयले जनाएको छ । अधिकांश घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।

यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले घटनामा एक नेपाली नागरिकको मृत्यु भएको जानकारी प्राप्त भएको पुष्टि गरेका छन् । “हामीलाई एक नेपालीको मृत्यु भएको सूचना आएको छ, तर विस्तृत विवरण अझै प्राप्त भएको छैन,” उनले भनेका छन् । यूएई सरकारबाट मृतकहरूको औपचारिक परिचय भने सार्वजनिक भइसकेको छैन ।

रक्षा मन्त्रालयका अनुसार २०२६ फेब्रुअरी २८ देखि सुरु भएको इरानी आक्रमणमा हालसम्म १६५ वटा ब्यालिस्टिक क्षेप्यास्त्र यूएईतर्फ प्रहार गरिएको थियो । तीमध्ये १५२ वटा क्षेप्यास्त्र हवाई प्रतिरक्षा प्रणालीद्वारा निस्तेज पारिएको र १३ वटा समुद्रमा खसेको जनाइएको छ । दोस्रो दिन बिहान मात्र २० वटा क्षेप्यास्त्र नष्ट गरिएको र ८ वटा समुद्रमा खसेको मन्त्रालयले उल्लेख गरेको छ ।

त्यस्तै दुई वटा क्रुज मिसाइल पूर्ण रूपमा नष्ट गरिएको छ । साथै ५४१ वटा इरानी ड्रोन पत्ता लागेकामा ५०६ वटा निस्तेज पारिएको र ३५ वटा देशभित्र खसेका थिए । तीमध्ये २१ वटा ड्रोन सर्वसाधारण बसोबास गर्ने स्थानमा खस्दा भौतिक क्षति पुगेको मन्त्रालयले जनाएको छ । हवाई प्रतिरक्षा प्रणालीले अवरोध गर्दा केही भग्नावशेष विभिन्न क्षेत्रमा खसेका कारण घर तथा सम्पत्तिमा सामान्यदेखि मध्यम क्षति पुगेको बताइएको छ ।

यसैबीच, मध्यपूर्व क्षेत्रमा बढ्दै गएको तनावलाई ध्यानमा राख्दै नेपाल सरकारले सम्बन्धित देशहरूमा रहेका नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिएका हुन्।

उनका अनुसार खाडी मुलुकहरूमा उत्पन्न तनावका कारण नेपालका विमानस्थलहरूमा देखिएका समस्या समाधान भइसकेकोबारे बैठकमा ब्रिफिङ गरिएको थियो। प्रभावित क्षेत्रका लागि सरकारले आधिकारिक ट्राभल एडभाइजरी जारी गरिसकेको मन्त्री शर्माले बताए।

“सम्बन्धित मुलुकमा ट्रान्जिटमा परेका नेपाली कामदारहरू र प्यासेन्टहरूलाई भएको असुविधाबारे पनि छलफल भयो,” मन्त्री शर्माले भने, “उहाँहरूको सुविधाका लागि राजदूतावासहरूसँग समन्वय गरी गन्तव्यमा पुर्‍याउने तथा जान नसक्नेहरूलाई सम्बन्धित कम्पनीले नै रेखदेख गर्ने व्यवस्था मिलाइएको छ।”

मन्त्री शर्माका अनुसार हालसम्म मध्यपूर्वमा रहेका नेपाली नागरिकमध्ये कसैको पनि हताहत भएको जानकारी छैन। सरकारले अवस्थाको निरन्तर निगरानी गरिरहेको र आवश्यक परे थप कदम चालिने जनाएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ८ : ४९ बजे