अमेरिका र इजरायलका निरन्तर आक्रमणको जवाफमा इरानले मध्यपूर्वभरि सैन्य कारबाही तीव्र बनाएपछि विश्व ऊर्जा बजारमा व्यापक हलचल देखिएको छ ।
बीबीसीका अनुसार क्षेत्रीय अस्थिरताका कारण तेल र प्राकृतिक ग्यासको मूल्य एकाएक उकालो लाग्दा विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना भएको छ ।
विश्वका प्रमुख ग्यास निर्यातकर्तामध्ये एक कतार इनर्जीले आफ्ना संरचनामाथि ड्रोन आक्रमण भएपछि तरल प्राकृतिक ग्यास (एलएनजी) उत्पादन अस्थायी रूपमा रोकेको जनाएको छ । लाफान औद्योगिक क्षेत्रमा इरानबाट प्रक्षेपित ड्रोनले निशाना बनाएपछि उत्पादन रोकिएको हो । कतारको रक्षा मन्त्रालयका अनुसार मेसाइइदस्थित विद्युत् केन्द्रको पानी ट्यांकीमा समेत आक्रमण भएको थियो । यस घटनापछि अन्तर्राष्ट्रिय बजारमा प्राकृतिक ग्यासको मूल्य सोमबार झण्डै ५० प्रतिशतले बढेको छ ।
त्यसैगरी विश्वव्यापी मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्य सोमबार १० प्रतिशतले बढेर प्रति ब्यारेल ८२ डलर नाघेको थियो । स्ट्रेट अफ हर्मुज नजिक कम्तीमा तीनवटा जहाजमाथि आक्रमण भएपछि बजारमा आपूर्ति अवरोधको त्रास बढेको हो । विश्वको करिब २० प्रतिशत तेल र ग्यास यही जलमार्ग हुँदै ढुवानी हुने भएकाले इरानले आफ्नो दक्षिणी भागस्थित जलमार्गबाट जहाजहरू नजान चेतावनी दिएपछि स्थिति झन् संवेदनशील बनेको छ ।
छिमेकी साउदी अरेबियाले पनि ड्रोन आक्रमणपछि रास तनुरास्थित आफ्नो प्रमुख तेल प्रशोधन केन्द्र अस्थायी रूपमा बन्द गरेको जनाएको छ । अन्तर्राष्ट्रिय ढुवानी हर्मुज प्रवेशद्वार क्षेत्रमा लगभग ठप्पजस्तै भएको विश्लेषकहरूले बताएका छन् । प्रारम्भिक तीव्र वृद्धिपछि ब्रेन्ट कच्चा तेलको मूल्य केही घटेर ७९ डलरमा झरेको थियो भने अमेरिकी बजारमा कारोबार हुने वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटिआई) तेल ७.६ प्रतिशतले बढेर ७२.२० डलर पुगेको छ ।
ऊर्जा मूल्यमा आएको उछालले विश्व सेयर बजारमा पनि असर पारेको छ । लन्डनको एफटीएसई १०० सूचकांक १ प्रतिशतले घटेको छ भने मध्यपूर्वी आकाशमार्ग अवरुद्ध भएपछि ब्रिटिश एयरवेजको मालिक कम्पनीका सेयर सबैभन्दा बढी घटेका छन् । बार्कलेज, स्ट्यान्डर्ड चार्टर्ड र एचएसबीसीजस्ता बैंकहरूको सेयर मूल्यमा समेत गिरावट आएको छ । युरोपका अन्य प्रमुख बजारहरूमा झन् ठूलो गिरावट देखिएको छ ।
अनिश्चितताका बेला सुरक्षित लगानीका रूपमा लिइने सुनको मूल्य २ प्रतिशतले बढेर प्रति औँस ५ हजार ३८८ डलर पुगेको छ । ऊर्जा मूल्य दीर्घकालीन रूपमा उच्च रहे मुद्रास्फीति बढ्ने र त्यसले केन्द्रीय बैंकहरूलाई ब्याजदर घटाउने निर्णयबाट पछि हट्न बाध्य पार्नसक्ने चिन्ता लगानीकर्ताहरूमा देखिएको छ ।
एमएसटी मार्कीका ऊर्जा अनुसन्धान प्रमुख साउल काभोनिकले बीबीसीसँग कुरा गर्दै बजारमा तत्काल आतंक फैलिएको अवस्था नभएको बताए । उनका अनुसार अहिलेसम्म तेल ढुवानी र उत्पादन पूर्वाधार कुनै पक्षको मुख्य निशाना बनेको छैन र बजारले यातायात पुनः सुचारु हुने संकेतको प्रतीक्षा गरिरहेको छ, जसले मूल्य घटाउन सहयोग गर्न सक्छ ।
तर केही विश्लेषकहरूले द्वन्द्व लम्बिए तेलको मूल्य १०० डलर नाघ्नसक्ने चेतावनी दिएका छन् । यसले विश्वव्यापी मुद्रास्फीति चर्किनुका साथै ब्याजदर उच्च रहिरहन सक्ने सम्भावना बढाउनेछ ।
आइतबार तेल उत्पादक राष्ट्रहरूको समूह ओपेक प्लसले दैनिक दुई लाख छ हजार ब्यारेल उत्पादन बढाउने सहमति जनाएको भए पनि विज्ञहरूका अनुसार यसले बजारमा तत्काल ठूलो राहत दिने सम्भावना कम छ ।
मध्यपूर्वमा बढ्दो तनावका कारण ऊर्जा आपूर्ति शृंखलामा अवरोध आउँदा विश्व अर्थतन्त्र फेरि एकपटक अनिश्चितताको चपेटामा परेको देखिएको छ ।







