धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम राजमार्गको बडहरी पुलमाथि बम विस्फोट हुँदा दुई जना बालबालिका घाइते भएका छन् ।
विस्फोटमा मिथिला–८ जमुनिवासकी १५ वर्षीया आशा भुजेल र ८ वर्षीय सुशील माझी घाइते भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए ।
घाइते दुवै बालबालिकाको अवस्था सामान्य रहेको उनले बताए। विस्फोट गराइएको वस्तु के थियो भन्ने अझै खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, धनुषा र महोत्तरीको सीमामा पर्ने रातो नदीको पुलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। महोत्तरी प्रहरीका अनुसार घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु सुरक्षित रूपमा निष्क्रिय गरेको हो।
यसैबीच फागुन २१ गते हुने निर्वाचन बिथोल्ने उद्देश्यले विभिन्न गतिविधि गरेको आरोपमा देशभरिबाट १४२ जना पक्राउ परेका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेका अनुसार पक्राउ परेकामध्ये ७६ जना प्रहरी हिरासतमा छन् भने ६६ जना रिहा भइसकेका छन्। फागुन १८ गते मात्र विभिन्न स्थानबाट ९ जना पक्राउ परेका थिए। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
सोमबार राति करिब १०:४५ बजे प्रहरी प्रभाग लुभुबाट खटिएको क्यूआरटी टोलीमाथि केही व्यक्तिले एक्कासि ढुंगामुढा प्रहार गरी आक्रमण गरेका थिए। प्रहरीले आत्मरक्षाका लागि एक राउण्ड हवाई फायर गरी स्थिति नियन्त्रणमा लिएको जनाएको छ। त्यसपछि थप प्रहरी परिचालन गरी घटनामा संलग्न चार जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका–२ स्थायी घर भई हाल महालक्ष्मी–७ चाँगाथली बस्ने २९ वर्षीय विकास भन्ने बुद्ध तामाङ, सल्यान दार्मा गाउँपालिका–३ घर भई हाल भक्तपुर बस्ने २० वर्षीय रमेश शाही, सोही स्थानका २० वर्षीय शंकर शाही र रुकुम सानोभेरी गाउँपालिका–२ घर भई हाल भक्तपुर बालकोट बस्ने २२ वर्षीय राजु मगर रहेका छन्।
उनीहरूमाथि उत्तेजना र आवेशमा कुटपिट गरेको कसूरमा ललितपुर जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आक्रमणमा घाइते भएका एक प्रहरी कर्मचारीको किष्ट अस्पतालमा उपचार भइरहेको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।







