२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

नेपालको निर्वाचन सम्पन्न भएकोमा भारतद्वारा स्वागत, नयाँ सरकारसँग सहकार्य गर्न तयार



काठमाडौँ — नेपालमा हालै सम्पन्न आम निर्वाचनको भारतले स्वागत गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले एक विज्ञप्ति जारी गर्दै उत्साहजनक सहभागिताका साथ नेपालमा लोकतान्त्रिक जनादेशको सफल प्रयोग भएको उल्लेख गर्नुभएको छ।

प्रवक्ता जैसवालले गत वर्षको असामान्य परिस्थितिको पृष्ठभूमिमा पनि चुनाव सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता र सम्बद्ध सबै सरोकारवालाहरूलाई बधाई दिनुभएको छ। भारतले नेपालमा भएको यस लोकतान्त्रिक अभ्यासलाई सकारात्मक रूपमा लिँदै नयाँ बन्ने सरकारसँग घनिष्ठ रहेर काम गर्ने तत्परता समेत देखाएको छ।

विज्ञप्तिमा भनिएको छ, “आपसी हितका लागि हाम्रा दुई देश र जनताबीचको बलियो सम्बन्धलाई अझ सुदृढ तुल्याउन हामी नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर छौँ।” विगतदेखि नै नेपालको शान्ति, प्रगति र स्थायित्वका लागि सहयोग गर्दै आएको स्मरण गराउँदै भारतले यस पटकको निर्वाचनमा पनि आवश्यक बन्दोबस्तीका सामानहरू उपलब्ध गराएर सहयोग गरेको जनाएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  १० : १० बजे