नेपाली राजनीतिको ‘न्यूक्लियर केन्द्र’ मानिने झापा क्षेत्र नम्बर ५ मा यसपटक अप्रत्याशित र ऐतिहासिक उलटफेर भएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दशकौँदेखिको गढ र विरासतलाई पूर्णतः भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भारी मतान्तरले विजयी भएका छन् । रास्वपाले शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका कारण पनि यो निर्वाचनमा देशभरकै विशेष चासो र नजर केन्द्रित थियो ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार, बालेन शाहले एमाले अध्यक्ष ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । कुल खसेको मतमध्ये विजयी उम्मेदवार बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा एमाले अध्यक्ष ओली १८ हजार ७३४ मतमा खुम्चिएका छन् । काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा होमिएका बालेनका लागि यो जितले प्रधानमन्त्रीको दौडमा बलियो वैधानिकता र नैतिक आधार प्रदान गरेको छ ।
विगत तीन दशकदेखि झापा–५ केपी शर्मा ओलीको निर्विकल्प किल्ला मानिँदै आएको थियो । २०४८ सालदेखि निरन्तर यसै क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका ओलीले २०५६ को निर्वाचनमा बाहेक यहाँ कहिल्यै हार व्यहोर्नु परेको थिएन । विशेषगरी २०७४ र २०७९ को निर्वाचनमा फराकिलो मतान्तरसहित जित निकाल्दै उनले आफ्नो ‘अजेय’ छवि बनाएका थिए । तर, २०८२ को बदलिँदो राजनीतिक घटनाक्रम र ‘जेनजी’ आन्दोलनको रापले यसपटक झापाको धरातलमा नयाँ राजनीतिक अंकुरण गरिदिएको छ । काठमाडौँ महानगरमा देखाएको कार्यक्षमता र सुशासनको हुटहुटीलाई रास्वपाको संगठनात्मक शक्तिको साथ मिलेपछि बालेनका लागि झापाको चुनावी मैदान ‘क्लीन स्वीप’ गर्ने मुख्य आधार बन्यो ।
तुलनात्मक रूपमा हेर्दा, २०७९ को आम निर्वाचनमा ओलीले यसै क्षेत्रबाट नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गरेका थिए । त्यतिबेला ओलीले ५२ हजार ३१९ मत ल्याएका थिए भने अधिकारीले २३ हजार ७४३ मत पाएका थिए। तर, मात्र तीन वर्षको अन्तरालमा झापा ५ को चुनावी मौसम पूर्णतः बदलिएको छ । अघिल्लो निर्वाचनमा ५२ हजारभन्दा बढी मत ल्याएका ओली अहिले १८ हजारमा झर्नुले एमालेको परम्परागत भोट बैंकमा ठूलो पहिरो गएको प्रष्ट हुन्छ ।
यता, बालेनले प्राप्त गरेको ६८ हजारभन्दा बढी मतले झापामा पहिलोपटक ‘स्विङ भोटर’ र युवा मतदाताको पूर्ण ध्रुवीकरण भएको संकेत गर्दछ । लामो समय सत्ताको केन्द्रमा रहेका ओलीको कार्यशैली, विचौलियासँगको निकटता र संसद् विघटन जस्ता पुराना मुद्दाहरूका कारण मतदातामा देखिएको वितृष्णालाई बालेनले ऊर्जामा बदल्न सफल भए। काठमाडौँबाट सुरु भएको युवा विद्रोहको लहर झापाका चिया बगानदेखि सहरसम्म पुग्दा पुराना दलका हस्तीहरू रक्षात्मक बन्न पुगे ।
बालेन शाहको यो जितसँगै अब संघीय संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी झन् बलियो शक्तिका रूपमा उदाएको छ । झापा–५ को यो नतिजाले केवल एउटा सिटको मात्र फैसला गरेको छैन, यसले नेपाली राजनीतिमा स्थापित ‘बाजे पुस्ता’ को बिदाइ र ‘नाति पुस्ता’ को उदयको वैधानिक घोषणा समेत गरिदिएको छ ।








