२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

एमालेले रामबहादुर थापाको अभिव्यक्ति सच्याइयो, राज्यका अंगप्रति ‘मित्रवत्’ सम्बन्ध



नेकपा (एमाले)ले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापाले संसद्मा दिएको अभिव्यक्तिलाई सच्याउँदै राज्यका सुरक्षा निकाय, कर्मचारीतन्त्र र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध पूर्ववत् र मित्रवत् रहने स्पष्ट पारेको छ ।

शुक्रबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले थापाको अभिव्यक्तिमा देखिएको अन्तरविरोधलाई स्पष्ट पार्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको हो। बैठकको निर्णयमा संविधान र प्रचलित कानुनअनुसार सञ्चालन भएका नेपाली सेना, अन्य सुरक्षा निकाय, निजामती प्रशासन तथा अन्तर्राष्ट्रिय समुदायप्रति पार्टीको सम्बन्ध सुदृढ र सकारात्मक रहने उल्लेख गरिएको छ।

बैठकपछि उपमहासचिव लेखराज भट्टले थापाको भनाइ पूर्ण रूपमा गलत नभए पनि केही विषयमा अन्तरविरोध देखिएको बताए। उनका अनुसार संसद्मा व्यक्त धारणा जनमतलाई अस्वीकार गरेको जस्तो देखिएकाले पार्टीले जनताको मतको सम्मान गर्ने स्पष्ट सन्देश दिएको हो। साथै सेना, कर्मचारी र अन्तर्राष्ट्रिय सम्बन्ध विगतझैँ कायम रहने उनले बताए।

एमालेले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै विजयी सबै उम्मेदवारलाई बधाई दिएको छ। साथै प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएकोमा शुभकामना व्यक्त गरिएको छ। महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा निर्वाचनमा सहभागी मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी तथा नागरिक समाजलाई धन्यवाद दिइएको छ।

यसअघि बिहीबार संसद्मा बोल्दै थापाले नेपाली सेना, कर्मचारीतन्त्र र विदेशी शक्तिको संलग्नतामा ‘जादुमयी विजय’ हासिल भएको आरोप लगाएका थिए। उनले निर्वाचन परिणाम र अघिल्ला राजनीतिक घटनाक्रममा विभिन्न शक्तिहरूको प्रभाव रहेको दाबी गरेका थिए।

थापाको उक्त अभिव्यक्तिपछि एमालेभित्रै व्यापक प्रतिक्रिया देखिएको थियो। संस्थापन इतर नेताहरूले आधारबिनाको आरोप भन्दै आपत्ति जनाएका थिए भने उपाध्यक्ष विष्णु पौडेलले थापाको भनाइ पार्टीको स्थापित नीति विपरीत रहेको टिप्पणी गरेका थिए। उपमहासचिव योगेश भट्टराई, नेता सुरेन्द्र पाण्डेलगायतले पनि असहमति जनाएका थिए।

यद्यपि संस्थापन पक्षले भने थापाले उठाएका राजनीतिक विषय पार्टीको छलफलबाट आएका भए पनि राज्यका अंगहरूप्रति लक्षित टिप्पणी व्यक्तिगत रहेको स्पष्ट पारेको छ। सचिव पदमा अर्याल र खगराज अधिकारीले पनि त्यही धारणा दोहोर्‍याउँदै राजनीतिक र अन्य संवेदनशील विषयमा पार्टीको एउटै धारणा बनाउनेबारे छलफल भएको बताएका छन्।

थापाको अभिव्यक्तिले पार्टीभित्र बहस सिर्जना गरेपछि एमालेले औपचारिक रूपमा धारणा स्पष्ट गर्दै आन्तरिक मतभेद साम्य पार्ने प्रयास गरेको देखिएको छ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १० : २० बजे