२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

इरानमा पक्राउ परेका अमृत झा सकुशल, सामाजिक सञ्जाल दुरुपयोगमा ११ नेपाली पक्राउ



परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले झालाई हाल इरानको कारागारमा राखेर मुद्दा चलिरहेको जानकारी दिए।

उनका अनुसार झा मध्यपूर्वमा तनाव सुरु हुनुअघि नै पक्राउ परेका हुन्। ‘सम्बन्धित अदालतबाट निर्णय हुन बाँकी छ, सजायबारे अहिले केही भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘एक जना वकिलले भेट गरिसक्नुभएको छ र उहाँ सुरक्षित हुनुहुन्छ। थप जानकारी लिने प्रयास भइरहेको छ।’

यसैबीच, इजरायल–अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण मध्यपूर्वका विभिन्न स्थानमा मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको मन्त्रालयले जनाएको छ। उडान प्रभावित भएकाले शव ल्याउन समस्या भइरहेको प्रवक्ता क्षेत्रीले बताए।

मन्त्रालयका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अविवमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ शव नेपाल ल्याउन बाँकी छन्।

त्यस्तै, इरान–इजरायल तनावकै बीच सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सन्देश र संवेदनशील सामग्री सार्वजनिक गरेको आरोपमा ११ जना नेपाली विभिन्न मुलुकमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा संयुक्त अरब इमिरेट्स (यूएई) मा ३, साउदी अरेबियामा ४, कतारमा ३ र ओमानमा १ जना रहेका छन्।

प्रवक्ता क्षेत्रीका अनुसार इरानले प्रहार गरेका क्षेप्यास्त्र तथा ड्रोन खाडी मुलुकको आकाशमा देखिएपछि त्यसको फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभियोग उनीहरूमाथि लागेको छ। युद्धग्रस्त क्षेत्रसँग सम्बन्धित संवेदनशील सैन्य सूचना बाहिरिने जोखिमका कारण ती मुलुकहरूले यस्ता गतिविधिमा कडा प्रतिबन्ध लगाएका छन्।

‘सामाजिक सञ्जालमा भ्रम फैलाउने खालका फोटो तथा भिडियो सार्वजनिक गरेको आधारमा उनीहरू पक्राउ परेका हुन्,’ उनले भने।

पक्राउ परेका नेपालीहरूको अवस्थाबारे सम्बन्धित देशमा रहेका नेपाली दूतावास तथा नियोगहरूले समन्वय गरिरहेका छन्। उनीहरूमाथि लागेको आरोप, सम्भावित जरिवाना वा सजायबारे विस्तृत जानकारी संकलन भइरहेको मन्त्रालयले जनाएको छ।

हाल इरान र इजरायलबीचको प्रत्यक्ष द्वन्द्वले खाडी क्षेत्र उच्च सुरक्षा सतर्कतामा रहेको छ। विशेषगरी साउदी अरेबिया र यूएईमा ‘एन्टी साइबर क्राइम’ सम्बन्धी कानुन अत्यन्त कडा भएकाले अनुमति बिना सैन्य वा सुरक्षा संवेदनशील सामग्री खिच्नु वा सामाजिक सञ्जालमा सार्वजनिक गर्नु गम्भीर अपराध मानिन्छ।

वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेका करिब १५ लाख नेपालीमध्ये ठूलो हिस्सा सामाजिक सञ्जालमा सक्रिय रहे पनि स्थानीय कानुनबारे पर्याप्त जानकारी नहुँदा कतिपय नेपाली अन्जानमै कानुनी समस्यामा पर्ने गरेका छन्। यस्ता कसुरमा मोटो जरिवाना, जेल सजायदेखि देश निकाला (डिपोर्ट) सम्मको व्यवस्था रहेको छ।

परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीहरूलाई सम्बन्धित देशको कानुन कडाइका साथ पालना गर्न तथा संवेदनशील समयमा सामाजिक सञ्जाल जिम्मेवार रूपमा प्रयोग गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १० : २३ बजे