२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

बलात्कार आरोपमा कलाकार सागर लम्साल ‘बले’ पक्राउ



कलाकार सागर लम्साल ‘बले’ बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार, अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत लगाएको आरोपका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो ।

शुक्रबार बिहान ती युवतीले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै सागरले एक वर्षअघि आफूलाई बलात्कार गरेको खुलासा गरेकी थिइन् । सोही विषय सार्वजनिक भएपछि प्रहरीले तत्कालै एक्सन लिएको हो । “युवतीले लगाएको आरोपबारे गम्भीर अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिएका हौं,” एसएसपी थापाले बताएका छन् ।

बलात्कार जस्तो जघन्य अपराधको आरोप लागेपछि लम्साललाई छायांकनरत फिल्म ‘पाँच पाण्डव’ बाट निष्कासन गरिएको छ । फिल्मको निर्माण कम्पनी कालारानी फिल्मस् प्रालिले शुक्रबार नै एक विज्ञप्ति जारी गर्दै उनलाई फिल्मबाट हटाउने निर्णय गरेको हो ।

“जघन्य अपराधमा स्वयं पीडित युवतीले नै आरोप लगाइसकेपछि नैतिकताका आधारमा आरोपित सागर लम्साललाई फिल्मबाट निष्कासन गर्ने निर्णय गरिएको छ” बिज्ञप्तिमा भनिएको छ ।

विशेष कुरा त के छ भने, यो फिल्ममा सागरको ९० प्रतिशत दृश्य खिचिसकिएको थियो। तर निर्माण पक्षले अब उनी फिल्मको हिस्सेदार नरहने र उनले अभिनय गरेका कुनै पनि दृश्य फिल्ममा समावेश नगर्ने स्पष्ट पारेको छ।

यस घटनाले कलाकारिता क्षेत्रमा तरंग पैदा गरेको छ भने प्रहरीले घटनाको थप कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १२ : ११ बजे