प्रतिनिधि सभा निर्वाचनमा ऐतिहासिक पराजय व्यहोरेपछि नेकपा एमालेभित्र गम्भीर आन्तरिक संकट चुलिएको छ । पार्टीको वर्तमान नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेता-कार्यकर्ताहरूले नेतृत्व परिवर्तनका लागि ‘विशेष महाधिवेशन’ माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका छन् ।
निर्वाचन सम्पन्न भएको एक महिना बितिसक्दा पनि पार्टीले औपचारिक समीक्षा नगरेको र नेतृत्वले हारको जिम्मेवारी लिनुको सट्टा ‘जिद्दी’ देखाएको भन्दै कार्यकर्ता तहबाट दबाब बढेको हो ।
विशेष महाधिवेशनका लागि तयार पारिएको निवेदनमा निर्वाचनको नतिजालाई एमाले इतिहासकै सबैभन्दा कमजोर भनिएको छ ।
निवेदनमा भनिएको छ, “यो नतिजाले पार्टीको कमिटी प्रणाली र नेतृत्वप्रति जनताको पूर्ण अविश्वास रहेको उजागर गर्छ। यसको निकास केन्द्रीय सचिवालय वा कमिटीबाट मात्र सम्भव छैन, विशेष महाधिवेशन नै अनिवार्य छ।”
एमाले विधान–२०४९ को धारा ७३ अनुसार बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि वा दुई तिहाइ जिल्ला कमिटीले लिखित माग गरेमा ६ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । युवा नेताहरू अहिले यही प्रावधान बमोजिम हस्ताक्षर जुटाउन सक्रिय छन् ।
यद्यपि, एक पदाधिकारीका अनुसार अध्यक्ष केपी शर्मा ओली हाल प्रहरी हिरासतमा रहेकाले यो उपयुक्त समय नभएको तर्क पनि पार्टीभित्र बलियो छ ।
शुक्रबार च्यासलस्थित पार्टी मुख्यालयमा ६ घण्टा लामो सचिवालय बैठक बसेको थियो । बैठकले निर्वाचनको संक्षिप्त समीक्षा गर्दै निर्वाचित सांसद र नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई बधाई दिने निर्णय गरेको छ ।
यसअघि कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले प्रतिनिधि सभाको पहिलो बैठकमै एमालेको हारमा सेना, कर्मचारी र विदेशी शक्तिको हात रहेको विवादास्पद अभिव्यक्ति दिएका थिए। सचिवालय बैठकले उक्त अभिव्यक्ति सच्याउँदै जनमतको सम्मान गर्ने वक्तव्य जारी गरेको छ ।
संसदीय दलको नेतामा युवा नेता सुहाङ नेम्वाङलाई रोकिएपछि एमालेका युवा पंक्ति थप आक्रोशित बनेका छन् । उनीहरूले पार्टी कार्यालयमा प्लेकार्ड प्रदर्शन गर्ने र नेताहरूलाई गुलाबको फूल दिएर ‘सम्मानजनक’ बिदाइको आग्रह गर्दै नेतृत्व परिवर्तनको माग गरिरहेका छन् ।
उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव योगेश भट्टराई लगायतका शीर्ष नेताहरूले समेत सार्वजनिक रूपमै नेतृत्व पुनर्गठनको बहस सुरु गरिसकेकाले एमाले अब कुन दिशामा मोडिनेछ भन्ने विषय नेपाली राजनीतिको केन्द्रमा रहेको छ।








