सरकारले इन्धन संकटका कारण सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पेट्रोलियम पदार्थ आपूर्तिमा देखिएको असहज अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जानकारी दिए । उनका अनुसार शैक्षिक संस्थाबाहेक अन्य सरकारी कार्यालयहरूको समय भने बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था गर्ने निर्णय पनि गरेको छ।
हाल इरान, अमेरिका र इजरायलबीचको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्तिमा समस्या उत्पन्न हुँदा त्यसको प्रभाव नेपालमा समेत परेको छ। पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भएको तीव्र वृद्धि पनि यसको कारण मानिएको छ। नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर २ सय २ रुपैयाँसम्म पुगेको छ, जसले आम उपभोक्तामा थप आर्थिक दबाब सिर्जना गरेको छ।








