२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

इरानको पहाडी क्षेत्रबाट अमेरिकी फाइटर जेटका पाइलटको नाटकीय उद्धार



इरानको दक्षिणी आकाशमा खसालिएको अमेरिकी लडाकु विमान एफ–१५ई स्ट्राइक इगलका चालक दलका एक सदस्यलाई उच्च जोखिमपूर्ण सैन्य कारबाहीमार्फत सुरक्षित उद्धार गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बिहानै ती सैनिकलाई इरानी भूमिबाट सफलतापूर्वक निकालिएको जानकारी दिएका हुन् । इरान र अमेरिका–इजरायल युद्धको ३७औँ दिनमा घटेको यो घटनाले विश्वको ध्यान तान्नुका साथै दुई देशबीचको तनावलाई थप उत्कर्षमा पुर्‍याएको छ ।

गत शुक्रबार बिहान इरानी हवाई प्रतिरक्षा प्रणालीले अमेरिकी विमानलाई निसाना बनाएपछि विमानमा सवार दुई चालकदल सदस्यमध्ये एकलाई तत्कालै उद्धार गरिए पनि अर्का एक सैनिक दुई दिनसम्म बेपत्ता भएका थिए ।

इरानले ती सैनिकलाई पक्राउ गर्न आफ्ना नागरिकहरूलाई समेत सहयोगको आह्वान गरेको थियो, जसका कारण उनी शत्रुको नियन्त्रणमा पर्ने उच्च जोखिम थियो । अमेरिकी सेनाले आफ्ना हराइरहेका सैनिकको खोजीका लागि ब्ल्याक हक हेलिकप्टर र दर्जनौँ अत्याधुनिक युद्धक विमानसहित ‘घातक हतियार’ सुसज्जित टोली परिचालन गरेको थियो ।

उद्धार अभियानको क्रममा अमेरिकी र इरानी पक्षबीच भीषण सैन्य भिडन्त भएको बताइएको छ । प्रारम्भिक योजना अनुसार रातको समयमा छिटो गएर सैनिकलाई लिएर फर्कने रणनीति तय गरिए पनि इरानी पक्षको कडा प्रतिकारका कारण उक्त अभियान लामो समयसम्म लम्बिएको थियो । सो क्रममा एउटा अमेरिकी ब्ल्याक हक हेलिकप्टरमा क्षति पुगेको भए पनि त्यसले उडान जारी राख्न सफल भएको थियो । अन्ततः दुई दिनसम्म इरानको विकट पहाडी क्षेत्रमा लुकेर बसेका घाइते सैनिकलाई अमेरिकी कमान्डोहरूले सुरक्षित रूपमा बाहिर निकाल्न सफल भए ।

राष्ट्रपति ट्रम्पले यस अभियानलाई अमेरिकी इतिहासकै सबैभन्दा साहसी र गौरवपूर्ण खोज तथा उद्धार कार्यको रूपमा व्याख्या गरेका छन् । यता इरानले भने यस घटनाको औपचारिक पुष्टि नगरे पनि अमेरिकी विमानहरूलाई ठूलो क्षति पुर्‍याएको दाबी गरेको छ । यदि ती सैनिक इरानी सेनाको नियन्त्रणमा परेको भए अमेरिकाका लागि यो ठूलो कूटनीतिक र रणनीतिक झट्का सावित हुन सक्ने रक्षा विश्लेषकहरूको ठम्याइ छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ११ : ४१ बजे