काठमाडौं — सरकारले डिजिटल सुशासनलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित नागरिक एपमा नयाँ सेवाहरू एकीकृत गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। अब निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोकसेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) समेत नागरिक एपमार्फत उपलब्ध हुने भएका छन्।
सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहका अनुसार यी नयाँ सेवाहरू हाल परीक्षणको चरणमा रहेका छन् र आगामी एक साताभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याइने तयारी गरिएको छ। “सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्ययोजनाअनुसार ४५ दिनभित्र सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएकोमा काम तीव्र गतिमा अघि बढिरहेको छ,” उनले बताए।
विभागले नेपाल इन्जिनियरिङ परिषद्सँग सहकार्य गर्दै इन्जिनियरहरूको व्यावसायिक प्रमाणपत्र पनि एपमार्फत उपलब्ध गराउने तयारी गरेको छ। यससँगै मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले स्वीकृत गरेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ अन्तर्गत नागरिक एपको विस्तारलाई उच्च प्राथमिकता दिइएको छ।
हाल नागरिक एपबाट प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) डाउनलोड गर्ने सेवा सञ्चालनमा आइसकेको छ। नयाँ संस्करण लागू भएसँगै लोकसेवा आयोगका परीक्षार्थीले प्रवेशपत्र बोकेर हिँड्नुपर्ने झन्झट हट्ने तथा एनओसीका लागि सम्बन्धित कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।
सरकारले यस पहलमार्फत सार्वजनिक सेवा प्रवाहलाई थप पारदर्शी, छिटो र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ।








