वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेअनुसार अमेरिकाले इरानका बन्दरगाहहरूमा नाकाबन्दी लागू गरेको छ । स्थानीय समय अनुसार सोमबार बिहान १०:०० बजे बाटै नाकाबन्दी प्रभावमा आएको जनाइएको छ ।
ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरान सम्झौताका लागि “धेरै आतुर” रहेको दाबी गरे । उनले आफूलाई “उचित व्यक्तिहरू” बाट वार्ताका लागि फोन आएको पनि बताएका छन् । साथै, सामाजिक सञ्जालमार्फत उनले चेतावनी दिँदै नाकाबन्दी तोड्न खोज्ने इरानी तीव्र आक्रमणकारी डुङ्गाहरू “तत्काल नष्ट गरिने” बताएका छन् ।
यसअघि इरानका सभामुखले धम्कीको सामना गर्ने “आत्मसमर्पण नगर्ने” बताएका थिए । ट्रम्पको पछिल्लो अभिव्यक्तिप्रति इरानबाट औपचारिक प्रतिक्रिया आएको छैन ।
समुद्री सुरक्षासम्बन्धी संस्था यूके मरिन ट्रेड अप्रेसन्सले उक्त क्षेत्रमा यात्रा गर्ने जहाजहरूलाई सतर्क रहन आग्रह गर्दै “सैन्य उपस्थिति” र “जाँच प्रक्रिया” सामना गर्नुपर्ने सम्भावना रहेको जनाएको छ ।
यसबीच, क्याथोलिक चर्चका प्रमुख पोप लिउले ट्रम्पको आलोचनापछि प्रतिक्रिया दिँदै युद्धबारे बहस गर्ने कुनै इच्छा नभएको बताएका छन् । ट्रम्पले यसअघि पोपलाई “विदेश नीतिका लागि कमजोर” भन्दै आलोचना गरेका थिए ।
सप्ताहन्तमा अमेरिका र इरानबीच भएका शान्ति वार्ता बिना सहमति टुंगिएको थियो । ट्रम्पले इरानले आणविक महत्वाकांक्षा त्याग्न नमानेकाले वार्ता असफल भएको बताएका छन् भने इरानका विदेशमन्त्रीले अमेरिकाले बारम्बार सर्त परिवर्तन गरेको आरोप लगाएका छन् ।
ट्रम्पले हाल “लडाइँ नभए पनि नाकाबन्दीमार्फत इरानलाई व्यापारबाट अलग गरिएको” दाबी गर्दै यस्तो अवस्था कायम राखिने बताएका छन् । उनले इरानलाई “विश्वलाई ब्ल्याकमेल गर्ने प्रयास” गरेको आरोप समेत लगाए ।
उक्त कदमले मध्यपूर्व क्षेत्रमा थप तनाव बढ्ने र अन्तर्राष्ट्रिय व्यापार, विशेषगरी स्ट्रेट अफ हर्मुजमार्फत हुने तेल ढुवानीमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ ।








