संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको प्रधानमन्त्रीको कार्यभार सम्हालेको अवसरमा बालेन्द्र शाहलाई बधाई सन्देश पठाएका छन् । ८ अप्रिल २०२६ मा पठाइएको उक्त पत्रमार्फत महासचिव गुटेरेसले प्रधानमन्त्री शाहलाई कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका हुन् ।
महासचिव गुटेरेसले आफ्नो सन्देशमा नेपालको नेतृत्वले अहिलेको समयमा नयाँ पुस्ताको निर्णायक प्रगति, सार्वजनिक जीवनमा उच्च नैतिकता र नागरिकलाई गुणस्तरीय सेवा दिने सशक्त संस्थाहरूको अपेक्षालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे । उनले नेपाल सरकारका प्राथमिकताहरूलाई पूर्ण सहयोग गर्न संयुक्त राष्ट्रसंघ सधैँ तत्पर रहेको समेत स्पष्ट पारेका छन् ।
यसैगरी, महासचिव गुटेरेसले दिगो विकासका लागि २०३० एजेन्डा कार्यान्वयनमा नेपालसँगको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् । उनले नेपालसँगको दीर्घकालीन साझेदारीलाई निरन्तरता दिने र बहुपक्षीय सहकार्यप्रति नेपालले देखाएको प्रतिबद्धताको प्रशंसा गरे । पत्रको अन्त्यमा महासचिव गुटेरेसले प्रधानमन्त्री शाहप्रति उच्च सम्मान व्यक्त गर्दै आगामी दिनमा संयुक्त राष्ट्रसंघ र नेपालबीचको सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।








