काठमाडौं महानगरपालिका को संयोजनमा राजधानी उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। महानगरपालिकाको पहलपछि उपत्यकाभित्रका अन्य पालिका र साझा यातायात को सहकार्यमा सेवा सुरु गरिएको हो।
नयाँ व्यवस्थाअनुसार अब उपत्यकावासीले राति ८ बजेदेखि ११ बजेसम्म पनि सार्वजनिक बस सेवा प्रयोग गर्न सक्नेछन्। यो सेवाले विशेषगरी राति काम गर्ने, अस्पताल आवतजावत गर्ने तथा आपतकालीन यात्राका लागि सहजता ल्याउने अपेक्षा गरिएको छ।
रात्रिकालीन सेवाअन्तर्गत पहिलो रुट ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म सञ्चालन हुनेछ। उत्तर–दक्षिण दिशामा रहेको यो रुट करिब १६ किलोमिटर लामो एकतर्फी दूरीको रहेको छ।
यस्तै, दोस्रो रुट थानकोटबाट सुरु भई सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्नेछ। पूर्व–पश्चिम दिशामा रहेको यो रुटको एकतर्फी दूरी करिब २० किलोमिटर रहेको छ।
यी दुवै रुटमा गरी चारवटा विद्युतीय बस सञ्चालन गरिनेछ। तोकिएका बस स्टपहरूमा प्रत्येक २० मिनेटको अन्तरालमा बस सेवा उपलब्ध हुने जानकारी दिइएको छ।
रात्रिकालीन बस सेवा शुभारम्भ कार्यक्रममा सुनीता डंगोल सहभागी भई यस सेवाले उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेकी थिइन्।








