परराष्ट्रमन्त्री शिशिर खनाल ले बेलायतका रक्षा अधिकारीहरूसँग भर्चुअल बैठक गर्दै बेलायती गोर्खा सैनिकहरूको समान पेन्सनलगायतका लामो समयदेखिका मागहरू यथाशीघ्र समाधान गर्न आग्रह गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले सोमबार बेलायतका रक्षा सचिव जोन हली तथा भेटेरान्स एवं नागरिक रक्षा मन्त्री लुइस सन्डरसन–जोन्ससँग भर्चुअल बैठक गरेका हुन् ।
बैठकमा नेपाल–बेलायत सम्बन्धमा गोर्खा सैनिकहरूको ऐतिहासिक योगदान र महत्त्वबारे चर्चा भएको थियो । मन्त्री खनालले बेलायती गोर्खाहरूका गुनासा र मागहरूलाई आपसी सहमतिका आधारमा छिटो समाधान गर्न आवश्यक रहेकोमा जोड दिँदै न्याय, निष्पक्षता र सम्मानका आधारमा विषयलाई सम्बोधन गर्न बेलायत सरकारसँग आग्रह गरे ।
जवाफमा भेटेरान्स एवं नागरिक रक्षा मन्त्री स्यान्डर-जोन्सले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूले उठाएका समस्याहरू समाधान गर्न नेपाली पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
भर्चुअल बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राई सहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो । बेलायती पक्षबाट सांसद अलेक्स बकर तथा नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्षसहित रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरू उपस्थित थिए। बैठकमा बेलायती गोर्खा संगठनका प्रतिनिधिहरूले पनि सहभागिता जनाएका थिए ।
यसअघि सोमबार नै मन्त्री खनालले बेलायतमा रहेका बेलायती गोर्खा भूतपूर्व सैनिकका प्रतिनिधिहरूसँग पनि भर्चुअल अन्तर्क्रिया गरेका थिए । उक्त कार्यक्रमको समन्वय तथा सहजीकरण लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले गरेका थिए ।
नेपाल सरकारले लामो समयदेखि उठ्दै आएको समान पेन्सन र अन्य सेवा–सुविधासम्बन्धी विषयलाई कूटनीतिक तहबाट समाधान गर्न पहल गरिरहेको सन्दर्भमा यो बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।








