२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

मन्त्रालय संख्या घटेपछि ६ सचिव अतिरिक्त समूहमा, २३ सचिवको जिम्मेवारी हेरफेर



सरकारले मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झारेपछि उच्च प्रशासनिक तहमा व्यापक जिम्मेवारी हेरफेर गरेको छ। यस क्रममा विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत ६ जना सचिवलाई अतिरिक्त समूहमा राखिएको छ भने २३ जना सचिवको पदस्थापन, सरुवा र जिम्मेवारी परिवर्तन गरिएको छ।

अतिरिक्त समूहमा राखिएका सचिवहरूमा लोकनाथ पौडेल, कृष्णहरि पुष्कर, हरिप्रसाद मैनाली, डा. गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा र डण्डुराज घिमिरे रहेका छन्।

यसअघि पौडेल युवा तथा खेलकुद मन्त्रालयमा, पुष्कर उपराष्ट्रपति कार्यालयमा, मैनाली सार्वजनिक खरिद अनुगमन कार्यालयमा, डा. शर्मा वन तथा वातावरण मन्त्रालयमा तथा डिल्लीराम शर्मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत थिए। घिमिरे हाल निलम्बनमा रहेको जनाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अतिरिक्त समूहमा राखिएका सचिवमध्ये डा. गोविन्दप्रसाद शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने विशेष जिम्मेवारी दिइएको छ। त्यस्तै, अतिरिक्त समूहकै अर्का एक सचिवलाई सूचना प्रविधि (आईटी) क्षेत्रको समन्वय गर्ने जिम्मेवारी दिने तयारी भइरहेको छ।

सरकारले मन्त्रालय पुनर्संरचना गरेसँगै दुई सचिवको दरबन्दी रहेका मन्त्रालयहरूमा दरबन्दी घटाएर एक मात्र सचिव रहने व्यवस्था गरेको छ। यसका कारण सचिवहरूको जिम्मेवारी पुनः बाँडफाँट गरिएको हो।

यसअघि अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुई–दुई जना सचिव कार्यरत थिए।

यसैबीच, सरकारले ६ जना सचिवलाई विभिन्न निकायमा सरुवा गर्दै नयाँ जिम्मेवारी तोकेको छ। नयाँ व्यवस्थाअनुसार भुपाल बराललाई गण्डकी प्रदेश, चन्द्रकला पौडेललाई उपराष्ट्रपति कार्यालय, प्रमिलादेवी बज्राचार्यलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, दिनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्र, चीरञ्जिवी चटौतलाई नेपाल ट्रष्टको कार्यालय तथा सरजुकुमार वैद्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ।

सरकारले मन्त्रालयहरूको संख्या घटाउने निर्णयसँगै प्रशासनिक संरचनालाई चुस्त बनाउने तथा कार्यसम्पादनमा प्रभावकारिता बढाउने उद्देश्यले सचिवहरूको जिम्मेवारी पुनः व्यवस्थित गरिएको जनाएको छ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  १० : ५३ बजे