३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

निर्वाचन आयोगद्वारा संघीयदेखि स्थानीय तहसम्म जनप्रतिनिधिको संख्या घटाउन प्रस्ताव



निर्वाचन आयोगले संघीय संसद्, प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिको संख्या आधाभन्दा बढी घटाउन सरकारद्वारा गठित संविधान संशोधन कार्यदललाई सुझाव दिएको छ ।

आयोगले गत साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको संविधान संशोधन कार्यदललाई पठाएको सुझावमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा तथा गाउँ–नगरसभाको आकार घटाएर शासन प्रणालीलाई छरितो र प्रभावकारी बनाउनुपर्ने उल्लेख गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आयोगले आफ्ना अनुभव, अध्ययन तथा पदाधिकारीहरूबीचको छलफलका आधारमा सुझाव तयार गरी कार्यदललाई बुझाएको हो ।

आयोगले संविधानको धारा ४८ मा नागरिकको कर्तव्यसम्बन्धी व्यवस्थामा संशोधन गरी ‘बालिग मताधिकारको प्रयोग गर्नु प्रत्येक नागरिकको कर्तव्य हुनेछ’ भन्ने व्यवस्था थप्न सुझाव दिएको छ ।

संविधानको धारा ६७ संशोधन गर्दै राष्ट्रियसभाका अध्यक्षले उपराष्ट्रपतिको समेत जिम्मेवारी निर्वाह गर्ने व्यवस्था गर्न आयोगले प्रस्ताव गरेको छ । कार्यपालिका र संसद्बीच समन्वय प्रभावकारी बनाउन यस्तो व्यवस्था आवश्यक रहेको आयोगको तर्क छ ।

आयोगले मन्त्रिपरिषद् गठनसम्बन्धी संवैधानिक व्यवस्था संशोधन गरी संघीय सांसदसँगै विज्ञ व्यक्तिलाई पनि समावेशी सिद्धान्तका आधारमा मन्त्री बनाउन सकिने व्यवस्था गर्न सुझाव दिएको छ ।

हाल गैरसांसद मन्त्री नियुक्त भएपछि ६ महिनाभित्र संसद्को सदस्य बन्नुपर्ने संवैधानिक व्यवस्था हटाउनुपर्ने र प्रदेश तहमा समेत विज्ञ गैरसांसदलाई मन्त्री बन्न सक्ने व्यवस्था गर्नुपर्ने आयोगको प्रस्ताव छ ।

हाल २७५ सदस्यीय रहेको प्रतिनिधिसभाको आकार घटाएर १०५ सदस्यीय बनाउन आयोगले सुझाव दिएको छ ।

यसअनुसार प्रत्येक जिल्लालाई एक निर्वाचन क्षेत्र मानेर ७७ जना प्रत्यक्ष निर्वाचित सांसद रहनेछन् । समानुपातिकतर्फको संख्या हालको ११० बाट घटाएर २८ कायम गर्ने प्रस्ताव गरिएको छ । सुझाव कार्यान्वयन भए संविधानको धारा ८४ संशोधन गर्नुपर्नेछ।

हाल ५९ सदस्यीय रहेको राष्ट्रियसभालाई ३० सदस्यीय बनाउन आयोगले सुझाव दिएको छ । सातै प्रदेशबाट चार–चार जना गरी २८ सदस्य निर्वाचित हुने र थप दुई जना विज्ञलाई राष्ट्रपतिबाट मनोनित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

निर्वाचनसम्बन्धी विवादको शीघ्र निरूपणका लागि विशेषीकृत निर्वाचन अदालत गठन गर्न आयोगले सुझाव दिएको छ । उक्त अदालतले निर्वाचन विवाद एक वर्षभित्र टुंग्याउनुपर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

आयोगले प्रतिनिधिसभा सदस्य बन्न आवश्यक न्यूनतम उमेर २५ वर्षबाट घटाएर २१ वर्ष कायम गर्न सुझाव दिएको छ । त्यस्तै राष्ट्रियसभा सदस्यका लागि ३५ वर्षको सट्टा ३० वर्षको उमेर कायम गर्न प्रस्ताव गरिएको छ ।

आयोगले प्रत्येक जिल्लाबाट दुई–दुई जना निर्वाचित हुने गरी प्रदेशसभाको संरचना बनाउने प्रस्ताव गरेको छ। यसअनुसार प्रदेशसभामा कुल १५४ सदस्य रहनेछन् ।

साथै प्रदेश तहमा समानुपातिक निर्वाचन प्रणाली नै हटाउनुपर्ने सुझाव आयोगले दिएको छ ।

आयोगले स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउने गरी संविधानको भाग १७ संशोधन गर्नुपर्ने सुझाव दिएको छ ।

वडाध्यक्षसहित पाँच सदस्यीय हालको वडा संरचनालाई घटाएर वडाध्यक्ष र दुई सदस्य मात्र रहने व्यवस्था प्रस्ताव गरिएको छ । तीमध्ये एक सदस्य महिला अनिवार्य हुनुपर्ने सुझाव छ ।

संविधानको धारा २२० संशोधन गरी जिल्ला सभा तथा जिल्ला समन्वय समिति खारेज गर्न आयोगले प्रस्ताव गरेको छ ।

आयोगले आफ्नो सुझावमा जिल्ला समन्वय समितिको आवश्यकता नदेखिएको उल्लेख गरेको छ ।

निर्वाचन आयोगले विभिन्न संवैधानिक आयोगहरूको संरचना ‘भद्दा’ भएको निष्कर्ष निकाल्दै तिनको संख्या तथा पदाधिकारी घटाउनुपर्ने सुझाव दिएको छ ।

आयोगले अख्तियार, महालेखा परीक्षक, लोक सेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलगायत निकायको संरचना पुनरावलोकन गर्नुपर्ने जनाएको छ ।

निर्वाचन आयोगले आफ्नै संरचनाबारे पनि सुझाव दिँदै प्रमुख निर्वाचन आयुक्तसहित दुई जना आयुक्त भए पर्याप्त हुने उल्लेख गरेको छ । साथै निर्वाचनको मिति निर्धारण गर्ने अधिकार आयोगमै रहनुपर्ने र राजनीतिक दलहरूको नियमन तथा व्यवस्थापनको संवैधानिक जिम्मेवारी पनि आयोगलाई दिनुपर्ने प्रस्ताव गरिएको छ ।

संविधान संशोधन कार्यदललाई बुझाइएका यी सुझावहरू कार्यान्वयन भए नेपालको संघीय, प्रादेशिक तथा स्थानीय शासन संरचनामा व्यापक परिवर्तन आउने देखिन्छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ९ : ५१ बजे