२८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026

‘यता कि उता ?’ कविता संग्रह विमोचन



राले । कवि शरद पराशर मरहट्टाको कविता संग्रह ‘यता कि उता ?’ को आइतबार अमेरिकाको रालेमा विमोचन गरिएको छ ।

नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको आयोजनामा भएको कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार डा. नीलम कार्की निहारिका, नर्थ क्यारोलाइना नेपाली साहित्य समाजकी अध्यक्ष गीता बस्नेत र कविपत्नी कमला मरहट्टाले संयुक्त रूपमा कृति विमोचन गरेका हुन् ।

विमोचनपछि मन्तव्य व्यक्त गर्दै कार्यक्रमकी प्रमुख अतिथि डा. निहारिकाले ‘यता कि उता ?’ ले प्रवासी नेपाली साहित्यको आफूले समेत नदेखेको एउटा महत्वपूर्ण पाटो उजागर गरेको बताइन् । उनले प्रवासी नेपाली साहित्यकारहरूले नेपाली साहित्यको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरिन् ।

कृति समीक्षा गर्दै कवि तथा गीतकार शिव पलाँस, साहित्यकार ईश्वर देवकोटा, कवयित्री नम्रता गुरागाईं र उमा शर्माले अमेरिका आएका नेपाली आप्रवासीको पुस्ताले भोग्दै आएको ‘यता बस्ने कि उता फर्कने?’ भन्ने मानसिक द्वन्द्वलाई कविले सशक्त रूपमा कवितामा उतारेको बताए ।

कवि मरहट्टाले अमेरिका र नेपालका विभिन्न स्थानमा रहँदा र बस्दा देखेका तथा भोगेका सामाजिक, सांस्कृतिक र व्यक्तिगत अनुभवलाई कवितामार्फत अभिव्यक्त गरेका छन् । संग्रहमा प्रवासी नेपालीको अन्तरद्वन्द्व, पहिचान, स्मृति र नोस्टाल्जियालाई मुख्य विषय बनाइएको छ ।

कार्यक्रममा डा. शिवहरि मरहट्टा, डा. बालकृष्ण शर्मा, शिखर दुलाल र ददिन पाण्डेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साहित्यकार डा. ऋषि बस्ताकोटीले सञ्चालन गरेको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष मनोज प्रधानले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अध्यक्ष गीता बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए ।

४५ वटा कविता समेटिएको ‘यता कि उता ?’ मकालु ग्रुप अफ कम्पनी, डिल्लीबजार, काठमाडौंले प्रकाशन गरेको हो ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार  ९ : २८ बजे