निर्वाचन आयोगले बिहीबार देशभर सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ। देशभरका मतदान केन्द्रहरूबाट प्राप्त विवरणका आधारमा करिब ६० प्रतिशत मत खसेको जानकारी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिनुभयो। मतदान प्रक्रिया सकिएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोगले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएको मितिमै उत्साहजनक रूपमा सम्पन्न गराउनु आफैमा चुनौतीपूर्ण कार्य रहेको बताउनुभयो। उहाँले देशभरबाट प्राप्त प्रारम्भिक विवरणअनुसार ६० प्रतिशत मतदान भएको देखिए पनि यसको विस्तृत विवरण संकलन गर्ने कार्य अझै जारी रहेको स्पष्ट पार्नुभयो।
बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य देशभर शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोगको ठहर छ। यस निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका थिए। देशभरका १६५ प्रत्यक्ष र ११० समानुपातिक सिटका लागि एकै चरणमा मतदान सम्पन्न भएको हो। अहिले देशभरबाट मतपेटिका संकलन गर्ने कार्य भइरहेको र अन्तिम विवरण प्राप्त भएपछि मतदानको यकिन तथ्याङ्क बाहिर आउने आयोगले जनाएको छ।









