नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले प्रतिनिधि सभा निर्वाचनमा भएको हारको पछाडि कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने साम्राज्यवादी षड्यन्त्र रहेको निष्कर्ष निकालेका छन्।
सोमबार पेरिसडाँडा स्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कार्य संयोजन समितिको बैठकमा बोल्ने नेताहरूले यस्तो धारणा राखेका हुन्। निर्वाचनको समीक्षा गर्न आयोजित बैठक पहिलो दिन करिब सात घण्टा चलेको थियो।
बैठकमा झलनाथ खनाल, अग्नि सापकोटा, वामदेव गौतम, जगन्नाथ खतिवडा लगायतका नेताहरूले धारणा राखेका थिए। सहभागी नेताहरूका अनुसार जेनजी आन्दोलनदेखि निर्वाचनसम्मका गतिविधिमा बाह्य प्रभाव देखिएको र त्यसले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएको तर्क गरिएको थियो।
बैठकमा बोल्दै नेता जगन्नाथ खतिवडा ले जेनजी आन्दोलनका नाममा साम्राज्यवादी शक्तिहरूले नेपालमा आफ्नो प्रभाव विस्तार गर्न खोजेको आरोप लगाए। उनले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने प्रयास भइरहेको भन्दै त्यसको राजनीतिक प्रतिवाद आवश्यक रहेको बताएका थिए।
त्यसैगरी, पूर्वप्रधानमन्त्री झलनाथ खनाल ले एमसीसीदेखि हालै सम्पन्न निर्वाचनसम्मका घटनाक्रमको समीक्षा गर्दै पार्टीभित्रकै कमजोरीले पनि कम्युनिस्ट आन्दोलन कमजोर बनेको स्वीकार गरे। उनले सत्तालोलुप प्रवृत्ति र नीतिगत विचलनका कारण आन्दोलनमा असर परेको उल्लेख गर्दै आगामी दिनमा स्पष्ट राजनीतिक अन्तरविरोध पहिचान गरी अघि बढ्नुपर्ने धारणा राखे।
बैठकमा अन्य नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने लाई जेनजी आन्दोलनको प्रमुख पात्रका रूपमा प्रस्तुत गरिएको टिप्पणी गरेका थिए। आन्दोलनका क्रममा भएका गतिविधि, मुद्दा फिर्ता लिनेदेखि अन्य निर्णयहरू समेत बाह्य योजनाअन्तर्गत भएको दाबी उनीहरूको थियो।
उक्त बैठक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको हो। बैठकमा केन्द्रीय कार्य संयोजन समितिका ४५ सदस्य सहभागी थिए। बिहान ११ बजे सुरु भएको बैठक साँझ ६ बजेसम्म चलेको थियो।
नेताहरूको बोल्ने क्रम अझै जारी रहेकाले मंगलबार पनि बैठक बस्नेछ। सबै नेताहरूको धारणा सुनेपछि नेकपाले आगामी रणनीति तय गर्दै आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।









