१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रधानन्यायाधीशमा मिश्र अनुमोदन, आजै सम्हाले कार्यभार


२५ भाद्र २०७५, सोमबार  

0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएसँगै सर्वोच्च पुगेर कार्यभार सम्हालेका छन् ।

मिश्रलाई सर्वोच्चमा संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले अँगालो हालेर स्वागत गरे ।

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश, सरकारका सचिव तथा उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो । संवैधानिक परिषद्को सिफारिसमा मिश्रको नाम आजै संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो । समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

कामु प्रधानन्यायाधीश मिश्रलाई यही भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

कानून मन्त्रालयको शाखा अधिकृतका रुपमा न्याय सेवामा प्रवेश गरेका मिश्रलाई आजदेखि २८औँ प्रधानन्यायाधीशका रुपमा न्यायालयको सर्वोच्च स्थानमा रहेर कार्यसम्पादन गर्ने अवसर प्राप्त भएको हो । रुपन्देहीको रायपुरमा विसं २०१० पुस २८ गते जन्मेका मिश्रले विसं २०३८ जेठ ३० गते तत्कालीन कानून तथा न्याय मन्त्रालयबाट शाखा अधिकृतबाट सेवा शुरु गरेका हुन् ।

प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार  ७ : ५६ बजे