६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

हेल्प नेपाललाई सघाउँदै म्युजिक नेपाल


२७ आश्विन २०७५, शनिबार  

0
Shares

काठमाडौं । सामाजिक क्षेत्रमा कृयाशील संस्था हेल्प नेपाल नेटवर्कलाई नेपालको अग्रणी सांगीतिक संस्था म्युजिक नेपालले आफ्नो नयाँ उत्पादनको बिक्रीबाट प्राप्त हुने रकमको निश्चित प्रतिशत रकम सहयोग गर्ने भएको छ ।

केही समय अघि हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेत र म्युजिक नेपालका प्रमुख कार्यकारी सन्तोष शर्माबीच सहयोग सम्बन्धमा सम्झौता सम्पन्न भएको थियो ।

म्युजिक नेपालले पश्चिमा देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुलाई लक्षित गर्दै नयाँ एप्स तयार गरेको छ र यसलाई नाम दिएको छ ‘नेपाल अन डिमान्ड’ । यहि अक्टोबर १४ तारिख, आइतवारका दिनदेखि सो एप्लिकेसन संयुक्त अधिराज्यबाट संचालनमा आउँदै छ ।

एप्स लन्चका लागि बेलायत जानुभन्दा अगाडि म्युजिक नेपालका प्रमुख कार्यकारी सन्तोष शर्माले म्युजिक नेपालको नयाँ एप्स ‘नेपाल अन डिमान्ड’को बिक्रीबाट आउने रकमको ७.५ प्रतिशतले हुन आउने रकम समाज सेवाको कार्यमा खर्च गर्नेगरि हेल्प नेपाल नेटवर्कलाई प्रदान गर्ने निर्णय गरिएको बताए ।

सीइओ शर्माले गीत संगीतका क्षेत्रबाट आएको रकममध्ये केही निश्चित प्रतिशत रकम समाज सेवाका कार्यमा पनि जाओस भनेरै ‘नेपाल अन डिमाण्ड’को बिक्री वापतको रकमको निश्चित प्रतिशत रकम विगत लामो समयदेखि स्वास्थ्य, शिक्षा तथा प्राकृतिक विपद्का समयमा गाउँगाउँ पुगेर सहयोग गर्दै आएको सामाजिक संस्था हेल्प नेपाल नेटवर्कलाई प्रदान गर्ने सम्झौता गरिएको बताए ।

उनले ‘नेपाल अन डिमान्ड’ एप्स नेपाली संस्कृति र कलाको सम्पूर्ण प्याकेज भएको बताउँदै यो एप्स डाउनलोड गरेर विदेशमा रहेका नेपालीहरुले नेपाली फिल्म, म्युजिक भिडियो, नेपाली गीत संगीत तथा सांस्कृतिक प्रस्तुतिहरु हेर्न सक्ने बताए । उनका अनुसार सो एप्स डाउनलोड गर्दा युरोपमा बस्ने नेपालीहरुले ७.९९ पाउन्ड तिर्नुपर्ने छ । यसरी डाउनलोड गर्दा पहिलो सात दिन फ्रि पाइने पनि शर्माको भनाई छ ।

सहयोग सम्वन्धी समझौता गर्दाको क्रममा सन्तोष शर्माले ‘नेपाल अन डिमाण्ड’ युरोप बाहेक अन्य मुलुकहरुमा पनि क्रमशः संचालनमा ल्याइने जनाए ।

सो कार्यक्रममा हेल्प नेपाल नेटवर्कका सल्लाहकार तथा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले हेल्प नेपालले सरकार नपुगेको ठाउँमा पुगेर सहयोग गर्दै आएको बताए ।

हेल्प नेपालका अध्यक्ष बस्नेतले म्युजिक नेपालसंग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।

प्रकाशित मिति : २७ आश्विन २०७५, शनिबार  ८ : ०५ बजे