१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आमाबा कम्युनिस्ट हुनुहुन्छ भन्दैमा म कम्युनिस्ट नै हो भन्ने हुँदैन : शृंखला खतविडा


७ पुस २०७५, शनिबार  

0
Shares

मिस नेपाल २०१८ शृंखला खतिवडा मिस वल्र्डको टप १२ मा परिन् । मिस वल्र्डको प्रतिस्पर्धामा भाग लिँदै गर्दा उनको चर्चा चुलिएको थियो । प्रतिनिधि सभाका सांसद विरोध खतिवडा र प्रदेश ३ का प्रदेश सांसद मुनु सिग्देलकी छोरी शृंखलालाई जिताउन नेपालीहरुले प्रशस्त भोटसमेत गरे ।

भोटकै आधारमा शृंखलाले मल्टिमिडिया अवार्ड पाइन् भने अर्को अवार्ड ब्युटी विथ द पर्पोज पनि हात पारिन् । दुई अवार्ड पाउँदै टप १२ सम्मको यात्रा गरेकी शृंखलाले मिस वल्र्डको ताज जित्ने दाबी धेरैले गरेका थिए । तर, उनको यात्रा टप १२ मै रोकियो । यही यात्रा रोकिए पनि नेपाल चिनाउँन पाउँदा आफूलाई निकै खुसी लागेको शृंखला बताउँछिन् । उनै मिस नेपाल शृंखलाले चीनबाट नेपाल फर्कदा विमानस्थलमा पत्रकारहरुसँग गरिएको कुराकानी:

कस्तो रह्यो मिस वल्र्डको यात्रा ?
निकै रमाइलो भयो । नयाँ यात्रा जस्तै लागिरहेको छ । एक वर्ष यसको तयारीमै बित्यो । नयाँ शुरुवात जस्तै लागिरहेको छ । अब धेरै कामहरु बाँकी नै छन् । अब यी कामहरु गर्न तिर लाग्नेछु ।

धेरै भोट पाउनु भयो, कस्तो लागेको थियो ?
मल्टीमिडिया अवार्ड नेपालीहरुको मायाले पाएको हुँ । मैले आशै नगरेको माया पाएँ । भोटले गर्दा सर्भरमै समस्या आएको रहेछ । मिस वल्र्डको साथीहरुले मलाई यति धेरै भोट कसरी पायौ भनेर सोध्थे । नेपाली सबै उर्लेर भोट हाल्नुभएको भन्ने सुनेको थिएँ । कतिपयले त सोध्थे तिमीले पैसा तिरेर नेपालबाट भोट हालिरहेका छौ । कसैले भन्थे, ‘तिमीहरुको देशको जनसंख्या धेरै छ हो, कति धेरै सपोर्ट गरेको भोट कति गरेको भन्थे । हाम्रो अर्बौ जनसंख्या भएकोले पनि त्यति सपोर्ट गर्दैन भन्थे ।’ त्यसैले खुसी लाग्यो । नेपालीको मायाले नै यहाँसम्म आइपुगें । यो मायाको ऋणी छु ।

टप १२ मा पर्दा कस्तो लागेको थियो ?
कन्फिडेन्स थियो । त्यही अनुसार तयारी पनि थियो । टप १२ मा पर्छु भन्ने त विश्वास नै थियो । त्यसैले खुसी लाग्यो । अचम्म लाग्ने गरी खुसी भन्ने चाहि थिएन ।

अनि टप ५ मा नपर्दा कस्तो लाग्यो ?
म त्यति दुखी थिएन । तर सम्पूर्ण नेपालीले आशा गर्नुभएको थियो । उहाँहरुलाई चाहि कसरी चित्त बुझाउने होला जस्तो लागेको थियो । म खासै दुखी भइनँ । खासै पश्चताप पनि लागेन । ताजै नजिते पनि माया जित्नु ठूलो कुरा हो । नेपाललाई चिनाउनु मेरो उद्देश्य थियो । त्यो मिस वल्र्डमा आएर पुरा भयो । ब्युटी विथ द पर्पोज जित्दा नै मलाई मिस वल्र्ड जितेजस्तै लाग्यो ।

के कारणले टप ५ मा छानिएन जस्तो लागेको छ ?
यसपाली कन्टिनेन्टल अनुसार भयो । एसियाबाट थाइल्यान्डलाई छानियो । जजहरुलाई थाइल्यान्ड नै डिजर्भिङ लाग्यो होला ।

यसअघि टप १० मा नेपाली परिसकेको थियो, के फरम्याट फरक पर्दा असर परेको हो ?
टप ५ मा पर्नुपर्ने थियो जस्तो लाग्छ । साथीहरुले पनि त्यस्तै पनि भन्नुभएको थियो । दुइचार जना साथीहरु त रुनु पनि भयो । तर यसपाली फरम्याट चेन्ज हुँदा मलाई केही असर प¥यो । महादेशअनुसार छुटाएकोले पनि यस्तो भएको हो कि ।

तपाईको नाममा कतिपयले फेक काम गरेको आरोप पनि लागेको छ नि सामाजिक सञ्जालमा ?
फेसबुकमा एक लाख सेयर गरौ भनेर कतिले फेक काम गरे । त्यस्तो नगरौ भनेर मैले भने पनि । तर उहाँहरु उल्टै मसँग रिसाउनुभएको थियो । सपोर्ट गर्न खोज्दा रिसाए भनेर ।

अघिल्ला मिस नेपालभन्दा चर्चित पनि हुनुभयो, के कारण चर्चित भएजस्तो लाग्छ ?
म भाग्यमानी भएर पनि होला । अनि मिस नेपाल चिनाउन बनाएको भिडियोले पनि काम गरेको होला । धेरै फ्याक्टर पनि होलान् म चर्चामा आउनुमा ।

कम्युनिस्ट बुवाको सन्तान भन्ने आरोप र यो प्रतियोगिताले मानिसलाई वस्तुकरण गर्‍यो भन्ने आरोप पनि छ नि ?
आमाबा कम्युनिस्ट हुनुहुन्छ भन्दैमा म कम्युनिस्ट नै हो भन्ने हुँदैन । वस्तुकरण भन्ने कुरा तपाईहरुले थाह नै पाउनुभयो । मेरो प्रस्तुति कुन हिसाबले वस्तुकरण भयो आफैले मुल्यांकन गर्नुभयो होला । विनर बेस्ट बडीका आधारमा छानियो कि बेस्ट माइन्डका आधारमा भनेर तपाईहरुले देखिसक्नुभयो नि ।

अब तपाईको क्षेत्र ग्ल्यामर रहन्छ कि इन्जिनियरिङ ?
म आफूलाई मन पर्ने पेशामा लाग्छु । ग्ल्यामर क्षेत्रमा लाग्दिनँ होला । किनकि मलाई अभिनय गर्न आउँदैन नि ।

 

प्रकाशित मिति : ७ पुस २०७५, शनिबार  ९ : ५३ बजे