६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

अमेरिकाको न्युयोर्कमा पाँचौ ट्राभलिङ किम्फ जुनको १६ तारिखमा


२८ बैशाख २०७६, शनिबार  

0
Shares

न्युयोर्क । एभरेस्ट टाइम्स फाउन्डेसनको सह–आयोजना तथा हिमाल एसोसियसनको आयोजनामा न्युयोर्कमा पाचौं ट्राभलिङ किम्फ (काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल) आगामी जुन महिनाको १६ तारिखमा प्रर्दशन हुने भएको छ । नेपालमा लामो समयदेखि हिमाल एसोसिएसनको आयोजनामा हुँदै आएको किम्फ देश बाहिर ट्राभलिङ किम्फको रुपमा विगत पाँच वर्षदेखि अमेरिकामा एभरेस्ट टाइम्सको सहआयोजनामा प्रर्दशन हुँदै आएको छ ।

नेपालको ग्रामीण भेगको वास्तविक कथा वस्तु समेटेर बनाइएका विभिन्न उत्कृष्ट डकुमेन्ट्रीहरु एभरेस्ट टाइम्सले यस पटक जुनको १६ तारिख ६०—०६ ३९ एभिन्यु उडसाइडस्थित धर्म हाउसमा प्रर्दशन हुने भएको छ ।

यस पटक सुपर माङक, मरिसकेको मान्छे, तातिनी र डोल्पा डायरी लगायतका चर्चित डकुमेन्ट्रीहरु प्रर्दशन गर्ने योजना रहेको किम्फका संयोजक एवं एभरेस्ट टाइम्सका सम्पादक ङिमा पाख्रिनले बताए ।

उनका अनुसार गत वर्ष प्रदर्शन गरेको चिल्डेन अफ स्नोल्यान्ड, च्यालो, जलगेडी र पेम्बा रिटन टु गोली दर्शकहरुले धेरै रुचाएकोले यस पटक पनि उतिकै रोचक र चर्चित डकुमेन्ट्रीहरु प्रर्दशनको तयारीमा रहेको छ । ‘हाम्रो लक्ष्य भनेको दर्शकको भावनालाई कदर गरेर किम्फ के हो भन्ने चिनाउनु नै हो,’ संयोजक पाख्रिनले भने, ‘विगत झै यस पटक पनि दर्शकहरुको साथ र सहयोगको हामीले आशा गरेका छौ ।’

उनका अनुसार यस पटकको किम्फमा यही कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु र अन्य मुलुकको दर्शकहरुलाई पनि आर्कषित गराउने योजना रहेको छ । एभरेस्ट टाइम्सले हरेक वर्ष आयोजना गर्दै आएको किम्फबाट उठ्ने रकम नेपालको ग्रामीण भेगको विद्यालयलाई सहयोग गरिरहेको छ । एभरेस्ट टाइम्सले किम्फ गरेर यस अघि सोलुखुम्बुको चाँगेस्थान मावि केरुङ र सेर्गा बागम प्राविलाई, त्यसपछि सिन्धुपाल्चोकको जम्बीयाङ प्राविलाई र गत बर्ष रामेछाप जिल्लाको बाल्दिङ विद्यालयलाई दिएको थियो ।

यस पटक प्रर्दशन हुने किम्फबाट उठ्ने रकम भोजपुर जिल्लाको विद्यालयलाई दिने योजना रहेको छ । ‘प्रवासमा ग्रामीण भेगको मन छुने राम्रो डकुमेन्ट्रीहरु देखाएर नेपालको चिनारी दिनुको साथै यस कार्यक्रमबाट संकलन रकम दुर्गम गाउँको विद्यालयलाई सहयोग गर्न पाउँदा गर्व लागेको छ,’ एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले भने । किम्फबाट उठ्ने रकम जिल्लालाई दिने भनेर घोषणा गरेसँगै सम्बन्धित जिल्लाका संघसंस्थाहरु तथा व्यक्तिहरुले पनि सहयोग गरिरहेको उनले बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ७ : ३० बजे