६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मेरो सोख सचेत र सन्देशमुलक गीतमै : सत्यकला राई, गायिका


४ मंसिर २०७६, बुधबार  

0
Shares

तिमीलाई हङकङ पुर्‍यायो, तिमी मसँग नबोल्ने अरे, इन्टरेनटैमा जस्ता गीतबाट चर्चित बनेकी गायिका सत्यकला राई १८ वर्षदेखि गायनमा सक्रिय छिन् । हालसम्म उनले पाँच सय बढी गीत गाइसकेकी छन् ।

राईलाई नेपाल संगीत तथा नृत्य प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सदस्यमा नेपाल सरकारले नियुक्त गरेकी छन् । उनै राई हाल अमेरिका भ्रमणमा छिन् । दोस्रो पटक अमेरिका भ्रमणमा रहेकी उनै गायिका सत्यकला राईसँग एभरेस्ट टाइम्सका सम्पादक ङिमा पाख्रिनले गरेको कुराकानी:

 

गीतसंगीतको यात्रा कसरी शुरु गर्नुभयो ?
बच्चैबाट गीतसंगीतमा थिएजस्तो लाग्छ । बोली नफुर्दै गीत गाउन शुरु गरेको आमाले भन्नुभएको थियो । बुझ्न थालेदेखि गीत मन पर्न थाल्यो ।
त्यतिबेला रेडियोलाई अँगालो मारेर सुत्थे । बिहानसम्मै बज्दा चाँडै ब्याट्री सकिन्थ्यो । स्कुलमा पनि जहिले पनि गीत गाउँथे । साँस्कृतिक कार्यक्रममा पनि गीत गाएँ । नाटकमा पनि गीत गाएँ । कक्षा २ मा हुँदा एउटा नाटकमा ८ वटा गीत नै गाएँ । हामीले गीत गाएको देखेर सबै छक्का पर्थे ।

परिवारमा कस्तो थियो सांगीतिक वातावरण ?
बाबाले एकदमै मिठो गीत गाउनुहुन्थ्यो । तर रेकर्ड गर्नु भएन । हजुरबुवा पनि गाउनुहुन्थ्यो रे । जुहारी नै खेल्नुहुन्थ्यो रे । रम्बुवाको मेला लाग्थ्यो माघे संक्रान्तिमा । यही ठाउँमा बुवा पनि गीत गाउन पुग्नुहुन्थ्यो रे ।
घरमा मादलदेखि गीतर थियो । दाजु पनि गीतमा रुचि छ । जनसंस्कृतिक मञ्चको संयोजक हुनुहुन्छ दाई । यस्तै छ परिवारको सांगीतिक माहोल ।

गायन यात्रामा थुप्रै गीत गाइसक्नुभयो, कस्तो कस्तो गीत गाउनुभयो अहिलेसम्म ?
लोकवेश धेरै गीत गाएको छु । फिल्मी गीत, पप गीत, क्लासिकल गाएकी छु । पपुलर चाहि लोक आधुनिक नै हो । हङकङ पुर्‍यायो, तिमी मसँग नबोल्ने अरे, इन्टरेनटैमा, ढडिया थपिदेउ न साइला लोकआधुनिक नै हो ।

संगीतमा लागेर के पाए जस्तो लाग्छ ?
यसमा लागेर सबै पाएको छु । अमेरिकामा १६ वटा स्टेट घुम्न पाएँ । धेरै रिलेसन बनाउन पाएँ । धेरैको मनमुटुमा बस्न पाएँ । धेरैले चिन्नुहुन्छ । यो नै ठुलो कुरा हो नि हैन ।

आफूले चाँहि के दिए जस्तो लाग्छ यो क्षेत्रका लागि ?
म यो क्षेत्रमा समाजमा सन्देशमुलक गीत पस्कन्छु । तिमीलाई हङकङ पुर्‍यायो पनि सन्देशमुलक गीत थियो । त्यतिबेला त्यो कार्डबारे धेरै थाह थिएन । त्यो लाहुरे, मामा भान्जाभान्जीले पाउने आइडीबारे बुझे गीतबाट । त्यही गीतबाट चिनिएँ पनि । सन्देशमुलक गीत नै गाउँछु ।
समाजमा कला संस्कृतिलाई अघि बढाउने काम गरेकी छु । समाजमा भएका घटनालाई उजागर गरी गीतमार्फत ल्याउछु ।

अहिले गीतसंगीत क्षेत्रमा विकृति आएको भन्छन्, तपाईलाई कस्तो लाग्छ ?
विकृति पनि आएको छ र प्रविधिको विकासले राम्रो पनि भएको छ । छाडापनतिर गएको हो कि जस्तो पनि लाग्छ । यस्तो मन पराउने भिड पनि छ । हिट हुन्छ भन्दैमा छाडा प्रवृत्तिको गीतमा जोड दिनुहुन्न । सचेत वर्गले त्यही हिसाबले अघि बढ्दा राम्रो हुन्छ । कार्यक्रमतिर पनि डान्सिङ गीतको फर्माइस आउछ । तर, मलाई चाहि उच्छृंखल खालको गीत मनपर्दैन ।

नेपालीबाहेक अरु भाषाको गीत पनि गाउनुभएको छ कि ?
राई दुमी भाषाको गीत गाएको छु । लिम्बु गीत पनि गाए । तामाङ सेलो गीत पनि गाएकी छु बुद्धवीर लामासँग ।

डायस्पोरामा गीतसंगीत कस्तो पाउनुभयो ?
यसबारेमा अध्ययन गर्दैछु । आत्मकथा पनि लेख्ने तयारी गर्दैछु । भुटानिज कम्युनिटीमा गीतसंगीत र संस्कृति संरक्षणमा एकदमै लागि परेको देखियो । नेपाली भाषा संरक्षणमा पनि एकदमै लागि परेको देखियो । नेपालीहरुको तुलानामा । भुटानमा नेपाली भाषी भएकै कारण देशबाट लखेटियो । त्यही भएर नै उहाँहरु जोगाउन लागेका होलान् जस्तो लाग्छ । यहाँ आउँदा पनि हाम्रो भाषा र संस्कृति जोगाउनुपर्छ भनेर लागि पर्नु भएको छ ।
न्युयोर्कमा भएकाहरुबाट यहाँ आफ्नो भाषा संस्कृति जोगाउन लागि परेको संघसंस्थाले ठेट नेपाली भाषाका गीतलाई अगाडि बढाउनुप¥यो । हामीले नेपाली भाषालाई बढी प्रयोगमा ल्याउनुप¥यो । भाषाहरु समय अघि बढ्दै जाँदा हराउँदै जान्छ । अझ हाम्रो भाषाहरु त संकटमा पर्छ होला । राई भाषा नै कति धेरै छ । हामीले पनि बोल्न छाड्दै जाँदा हराउने जोखिम छ । यसमा पनि पीर लाग्छ ।

भाषा जोगाउन नेपाल सरकारको नीति कस्तो पाउनुभएको छ ?
कला संस्कृतिलाई बचाउने हाम्रो उद्देश्य हो । हाम्रो उद्देश्य भनेको कसरी संरक्षण गर्ने कसरी विकास गर्ने भन्ने नै हो । त्यसको स्थिति राम्रो बनाउन हामीले सरसल्लाह गर्छौ ।

दोस्रो यात्रामा हुनुहुन्छ, कस्तो लाग्दैछ अमेरिका ?
अमेरिका विश्वकै सपनाको देश । यहाँको सिस्टम नै राम्रो । सिस्टमले गरेका धेरै राम्रो । यो सिस्टम नेपालमा लागू भएमा कति छिटो विकास हुन्छ होला । नेपालमा यो सिस्टम लागु भएमा धेरै राम्रो हुन्छ जस्तो लाग्छ ।
नेपालमा पनि आशलाग्दो कुरा भएको छ । कुलमान घिसिङका कारण लोडसेडिङ अन्त्य भएको छ । सीमा मिच्ने कुरा भइरहेको छ । यसमा कसरी मुक्त हुने भन्ने कन्सेप्ट चाहिएको छ । वाल लगाउने काम हुनुपर्‍यो । फिल्म ‘सिमानामा काँडेतार’ बाट नवल खड्काले सीमाको विषयलाई उठाएका छन् । हाम्रो उद्देश्य फिल्मबाट नेपालीको कानकानमा पुर्‍याउने हो ।

कलाकारले रोयल्टी पाउने कुरामा सरकारको प्रयास कस्तो लाग्दैछ ?
सरकारलाई आफ्नै दुःख छ । कूर्सी तानातान छ । गीतसंगीतमा सरकारले गरेको काम खासै सन्तोषजनक काम गरेको छैन । केहीले आफ्नै बलबुतामा रोयल्टी लिइरहेका छन् । बोल्नेले पाइरहेका छन् । नबोल्नेले पाएका छैनन् । सरकारको नीति नै छैन ।

गायनबाहेक के गर्नुहुन्छ ?
अहिले बिजनेशमा पनि छु । सेलिब्रटी र माङमालुङ दुई ब्रान्डको आर्गनिक चियाको बिजनेस गर्छु । यो भाटभटेनी सुपरमार्केटमा पाइन्छ । यसलाई अन्तराष्ट्रिय बजारमा पनि लैजाने प्रयासमा छु । हाम्रो प्रडक्ट विदेशमा पठाउन पाएमा देशको नाम पनि चिनिन्छ भनेर बजार खोजिरहेकी छु ।
गीतसंगीत सँगसँगै बिजनेस गरेको कारण केही दायित्य पनि छ नि देशको लागि । गीत गाएर हिडिरहेको बेला यसलाई बचेको समयलाई यसमा प्रयोग गरेको हुँ ।

(एभरेस्ट टाइम्स वर्ष १२ अंक २ मा प्रकाशित सामाग्री)

सम्बन्धित समाचार

गुमनाम थिइनँ, गायनमै छु–सत्यकला राई, गायिका

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ८ : ३४ बजे