७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

पञ्चेश्वरबारे दिल्लीमा हुने संयुक्त बैठकमा यी विषयमा छलफल हुनेछ



काठमाडौं– लामो समयदेखि चर्चामै सीमित पञ्चेश्वर जलविद्युत् आयोजना अगाडि बढाउन गठित पञ्चेश्वर विकास प्राधिकरणको संयुक्त बैठक भारतको राजधानी नयाँ दिल्लीमा हुने भएको छ ।

सञ्चालक समितिको बैठक मंसिर १३ गते दिल्लीमा आयोजना हुन लागेको हो । उक्त बोर्ड बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको १३ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने भएको छ ।

मन्त्रिपरिषद्को कात्तिक २९ र मंसिर ३ गतेको बैठकले उक्त बैठकमा भाग लिनका लागि सचिव घिमिरे नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको हो । बैठकमा प्राधिकरणको बजेट पारित गर्ने, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा छलफल हुनेलगायत विषय बैठकको कार्यसूची छ ।

गत फागुनमा प्राधिकरणअन्तर्गतको विज्ञ समितिको बैठक बसेको थियो । उक्त बैठकमा समेत डिपिआरका सबै विषयमा सहमति हुन सकेको थिएन । महाकाली सन्धि भएको केही समयभित्रै टुङ्गो लगाउने भनिएको पञ्चेश्वर जलविद्युत् आयोजनाको डिपिआर २४ वर्ष हुन लाग्दासमेत टुंगो लाग्न सकेको छैन । विशेषगरी नेपाल र भारतबीच महाकाली नदीको पानीको बाँडफाँटको विषयमा ठोस सहमति हुन सकेको छैन ।

भारतीय कम्पनी वापकोसले आयोजनाको डिपिआर तयार पारेको भए पनि त्यसमा सबैभन्दा बढी पानीको बाँडफाँटको विषयमा नै बढ्ता चासो रहेको छ । भारतीय परामर्शदाता कम्पनीले तयार पारेको डिपिआर तीन वर्ष पहिले नै प्राधिकरणलाई बुझाइसकेको छ । भारतीय कम्पनीले तयार पारेको उक्त प्रतिवेदनमा पञ्चेश्वर आयोजनाबाट करिब ५ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने उल्लेख छ ।

वापकोसले तयार पारेको डिपिआरमा शारदा नदीको पानीको बाँडफाँटलगायतको विषयमा नेपालले असहमति जनाउँदै आएको छ । महाकाली सन्धिमा छ महिनाभित्र डिपिआरको तयार गर्ने उल्लेख भए पनि हालसम्म सहमति भएको छैन ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १ : ३९ बजे