१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पहिरोमा चार प्रहरी सवार भ्यान र ट्रक पुरियो, दुइको मृत्यु


९ असार २०७४, शुक्रबार  

0
Shares

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोले एउटा प्रहरीको भ्यान र अर्को एउटा ट्रक पुरेको छ । प्रहरीको भ्यानमा सवार प्रहरी सहायक निरीक्षकसहित चारजना सवार थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार राति १ बजेर ५ मिनेट जाँदा पहिरोले प्रहरीको ना१झ ९३ नंको भ्यान र ना५ख ७८२७ नंको ट्रकलाई पुरेको थियो । भ्यान पुरिएकै अवस्थामा र ट्रक नदीमा खसेको थापाले बताए ।

भ्यानसँगै इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्के, सन्दीप कार्की र लीलबहादुर चेपाङ थिए । ती मध्ये दुइको शव निकालिएको प्रहरीले जनाएको छ । शवको पहिचान हुन सकेको छैन ।

ट्रकका सहयोगी चालकलाई उद्धार गरी उपचारका लागि तनहुँ पठाइएको छ । चालक भने सकुशल रहेको थापाको भनाइ छ ।

सो सडकखण्डको कालीखोलाको मुखमा राति ९ः४० बजे पहिरो खसेपछि प्रहरी पहिरो पन्छाउन पुगेका थिए । सो ठाउँको पहिरो पन्छाउन नपाउँदै चारकिलोमा पहिरो खसेको थियो । सो पहिरो पन्छाउन कठिन भएपछि फर्कने क्रममा मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ कालीखोला नपुग्दै एकाएक पहिरो खसेर गाडी पुरिएको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए । सो ठाउँमा पहिलो पटक पहिरो खसेको हो ।

सो ठाउँ र चारकिलोमा ठूला पहिरा खसेका छन् । घटनास्थलमा राति नै प्रजिअ नारायणप्रसाद भट्ट, प्रहरी प्रमुख दीपक थापासहित सुरक्षा निकायका जिल्लास्थित प्रमुखहरु पुगिसकेका छन् । पहिरोका कारण दुवैतर्फ सवारीको लाम लागेको छ । पहिरोको बीचमा पनि गाडी रहेकाले यात्रु भयभित भएका छन् । सो सडक दिउँसो बन्द गरेर काम गर्ने हुँदा रातको समयमा सवारी चाप बढ्ने गर्दछ ।

प्रकाशित मिति : ९ असार २०७४, शुक्रबार  ८ : २२ बजे