१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कोरोना भाइरस बारे अमेरिकाले बढी त्रास फैलाएको चीनको आरोप



एजेन्सी– अमेरिकाले कोरोना भाइरसका बारेमा वास्ताविकताभन्दा बढी हल्ला चलाएर त्रास फैलाएको चीनले आरोप लगाएको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरस नियन्त्रण हुन नसकिरहेको विषयलाई अमेरिकाले गलत तरिकाले व्याख्या गरेको चिनियाँ विदेश मन्त्रालयले सोमबार जनाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता हु चुन्यीङले विश्व समुदाय जिम्मेबार, शान्त र गम्भीर हुने विश्वास पनि व्यक्त गरे । उनले बैज्ञानिक तथ्यलाई आधार मान्ने र समस्याको समाधान गर्न तथा सामना गर्न तयार रहनु पर्नेमा पनि जोड दिए । ‘धेरै देशहरुले कोरोना भाइरससम्वन्धी समस्यासँग जुध्न चीनलाई सहयोग गर्न खोजीरहेका छन्, चासो दिइरहेका छन्,’ उनले भने ।

महामारीबाट जोगिने बलियो क्षमता भएका अमेरिकाजस्ता विकसित देशले नै विश्व स्वास्थ्य सङ्गठनको सिफारिसभन्दा विपरीत प्रतिबन्धहरू लगाउने कार्य गर्नु अस्वभाविक भएको उनको भनाई छ । अमेरिकाले प्रतिबन्ध लगाएलगत्तै अस्ट्रेलियाले पनि आफ्नो देशमा चिनियाँ नागरिकको आवागमनमा प्रतिबन्ध लगाएको छ ।

सोमवार नै हङ्कङले पनि चीनसँग जोडिएका १३ मध्ये १० वटा सीमाबाट मध्यरातदेखि मानिसको आवागमन रोक्ने जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले खासमा यात्रुहरू अनौपचारिक रूपमा देश प्रवेश गरे त्यसले झन् भाइरसको सङ्क्रमण बढाउन सक्ने भन्दै सीमा बन्द गर्ने निर्णयप्रति सतर्क गराएको छ ।

यही जनवरी ३० तारिखमा विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी रूपमा स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो ।

उक्त घोषणापछि अमेरिकाले आफ्ना सबै कर्मचारीका परिवारका २१ वर्षमुनिका सदस्यलाई अमेरिका फर्किन निर्देशन दिएको थियो ।

प्रवक्ता चुन्यीङले कोरोना भाइरसको संक्रमण आफ्नो देशमा नछिरोस भनेर नाकाहरुमा परिक्षण गर्ने, चेकजाँचमा कडाई गर्ने, नाका बन्द गर्ने, चिनियाँ नागरिकलाई प्रवेश नदिने लगायतका कार्यको आफुहरुले सम्मान गर्ने पनि उल्लेख गरे ।

चीनको हुवेइ प्रान्त अन्तर्गत पर्ने वुहानमा गत डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भइरसका कारण अहिलेसम्म चीनका सयौँको मृत्यु भइसकेको छ भने चीनसहित विभिन्न देशका हजारौमा सङ्क्रमण देखिएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार अहिलेसम्म दुई दर्जनभन्दा बढी देशमा यसबाट सङ्क्रमितहरु भेटिएका छन् ।

चीन बाहेक गत आइतबार फिलिपिन्समा एक जनाको यही भाइरसका कारण मृत्यु भएको पुष्टि गरिएको छ । चीनमा २० हजारभन्दा बढी मानिसमा कोरोनाभाइरस देखा परेको पुष्टि भइसकेको छ भने चीनमा मात्रै करिब ४२६ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १२ : १८ बजे