१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अमेरिकामा काेराेना संक्रमितको संख्या १० लाख बढी, जर्मनीमा मास्क अनिवार्य



बर्लिन (एजेन्सी)। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संयुक्तराज्य अमेरिकामा संक्रमित हुने व्यक्तिको संख्या १० लाख नाघेको छ । कोरोनाभाइरसबाट निकै प्रभावित युरोपेली मुलुकहरुमा भने लकडाउन विस्तारै खुकुलो बनाउने तयारी हुन थालेका छन् ।

जर्मनीले बुधबारदेखि सामान किन्न पसल जाने हरेक व्यक्तिलाई मास्क लगाउन अनिवार्य गरिएको छ । कोरोना महामारी पुनः शुरु हुने खतराकै बीच आर्थिक क्षति कम गर्न पनि लकडाउनलाई केही खुकुलो बनाउन लागिएको हो ।

यही कोरोना संकटले अमेरिकामा लाखौं मानिसलाई बेरोजगार बनाएको छ । यहाँ कोविड–१९ का बिरामीको संख्या विश्वमै सबैभन्दा बढी छ । एएफपीको गणना अनुसार, विश्वभर करिब २ लाख १८ हजारभन्दा बढीको मृत्यु भइसक्दा त्यसको करिब एक तिहाईको मृत्यु अमेरिकामा मात्र भएको छ ।

शताब्दीमै सर्वाधिक खराब आर्थिक मन्दीको पूर्वानुमान गरिएसँगै सामानको मागमा व्यापक कमी आएको तथा यात्रा र पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ ।

ब्रिटिस एयरवेजले खतराको घण्टी बजाइसकेको छ । कम्पनीले आफ्ना कर्मचारी एक तिहाईले कटौती गर्ने जनाएको छ ।

लेबनानमा ठूलै आर्थिक संकटको अवस्था सिर्जना भइसकेको छ । राष्ट्रव्यापी लकडाउनको बेवास्ता गर्दै मानिसहरु सडकमा प्रदर्शनमा उत्रिएका छन् ।

फ्रान्सेली प्रधानमन्त्री एडुआर्ड फिलिपले दैनिक आर्थिक गतिविधि निकै जोखिमपूर्ण रहे पनि आम सर्वसाधारणका लागि यो बाध्यात्मक भइसकेको बताउनुभएको छ । फ्रान्समा अर्को महिनादेखि पसलहरु, बजार र केही विद्यालयहरु खुला गर्ने योजना अघि सारिएको छ । अरु केही महिनासम्म सार्वजनिक यातायात र भेटघाटका क्रममा मास्क अनिवार्य गरिएको छ ।

इटाली, स्पेन र फ्रानसमा कोरोनाभाइरसबाट सर्वाधिक प्रभाव परेको छ । यी हरेक मुलुकमा २३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

स्पेनले अर्को दुई महिनाभित्र प्रतिबन्धहरु बिस्तारै खुुकुलो बनाउने जनाएको छ । इटालीमा अर्को साताबाट मानिसहरुलाई घरबाहिर गएर व्यक्तिगत अभ्यास गर्न तथा नातेदारसँग भेटघाट गर्न फुकुवा गरिने छ । तर अंकमाल गर्न र हात मिलाउन निषेध गरिएको छ ।

रसियादेखि नाइजेरियासम्मका मुलुकले लकडाउनलाई खुकुलो बनाउने योजना अघि सारेका छन् । विज्ञहरुले प्रतिबन्धहरु चाँडै खुकुलो बनाउँदा भाइरस संक्रमणको दर बढ्ने चेतावनी दिइरहेका भए पनि लकडाउन खुकुलो बनाउने योजना अघि बढेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको प्रसार रोक्न नसकेको भन्दै चीनमाथि लगातार आरोप लगाइरहेका छन् । तर बेइजिङले अमेरिकी आरोपको खण्डन गरिरहेको छ ।

दक्षिण अमेरिकामा ब्राजिलमा सर्वाधिक असर परेको छ । यहाँ ५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । पेरुको जेलमा भड्किएको हिंसामा नौ जना कैदीको ज्यान गएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  २ : ४९ बजे