१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जो बाइडेन सिनेटमा बहुमत जुटाउने कसरतमा



एटलान्टा (एजेन्सी) । राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी माथिल्लो सदन सिनेटमा बहुमत पुर्‍याउने अभियान मङ्गलबार थालनी गरेका छन् ।

रिपब्लीकन पार्टीको बहुमत रहेको सिनेटका नेता मिच म्याक्कोनेलले राष्ट्रपति निर्वाचनको परिणाम स्वीकार गरेलगत्तै बाइडेन सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत जुटाउने अभियानमा लागेका हुन् ।

सिनेटको दुई सदस्यका लागि जर्जिया राज्यमा आगामी जनवरी ५ मा चुनाव हुँदैछ । यो चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएमा सिनेटमा रिपब्लीकन र डेमोक्रेटिक पार्टी दुबैको समान ५०–५० स्थान हुनेछ ।

राष्ट्रपति चुनावमा जर्जिया राज्यमा बाइडेन विजयी भए पनि सिनेटका लागि उम्मेदवार रहनु भएका डेमोक्रेटिक पार्टीका उम्मेदवारहरुले ५० प्रतिशत मत प्राप्त गरेको थिएन । त्यही कारण जर्जियामा दोस्रो चरणको मतदान हुन लागेको हो ।

बाइडेन चुनावी प्रचार र सभाहरुका लागि जर्जिया प्रस्थान गरेका छन् । जर्जियामा डेमोक्रेटिक पार्टीका तर्फबाट जन ओस्सोफ र राफेल वार्नोक उम्मेदवार बन्नु भएको छ । यसअघि जर्जियाका दुबै स्थानमा रिपब्लीकन पार्टीका उम्मेदवार विजयी भएका थिए ।

राष्ट्रपति–निर्वाचित बाइडेनले भनेका छन्, “यी दुई व्यक्ति मलाई दिनुहोस्, हामी सिनेटमा नियन्त्रण गर्न सक्षम हुनेछौं ।”

इलेक्टोरल कलेजले बाइडेन विजयी भएको घोषणा गरेलगत्तै सिनेटका लागि रिपब्लीकन र डेमोक्रेटिक पार्टीबीच तानातान शुरु भएको छ ।

यसैबीच बाइडेनले इन्डियानका पूर्व मेयर पिट बुटिजिगलाई यातायात मन्त्रालयको जिम्मेवारी दिएको घोषणा गरेका छन् ।

चुनावमा धाँधली भएको आरोप लगाउँदै आउनु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हार अझै स्वीकारेका छैनन् । तर सिनेट रिपब्लीकनका नेता मिच म्याक्कोनेलले राष्ट्रपति ट्रम्पलाई एक सन्देश पठाई अब चुनावी दौड समाप्त भएको बताएका छन् ।

सिनेटको बैठकमा पनि म्याक्कोनेलले भने, “इलेक्टोरल कलेजले पनि बोलिसक्यो । त्यसैले आज म राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई दिन चाहन्छु ।”

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ५ : २७ बजे