६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

अमेरिकी हाउस अफ रिप्रिजिन्टेटिभ्सबाट ट्रम्पलाई हटाउने प्रस्ताव पारित



काठमाडौं । अमेरिकी संसद्को हाउस अफ रिप्रिजिन्टेटिभ्सले राष्ट्रपति डोनाल्ड ट्रम्प हटाउनका लागि प्रस्ताव पारित गरेको छ । २५ औं संशोधनमार्फत् ट्रम्पलाई हटाएर उपराष्ट्रपति माइक पेन्सलाई सत्ता हस्तान्तरण गर्न भनिएको छ ।

यसअघि उपराष्ट्रपति माइक पेन्सले २५ औं संशोधनतमार्फत् ट्रम्पलाई हटाउने कुनै योजना नरहेको बताएका थिए । यससँगै तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ट्रम्पलाई उपराष्ट्रपतिले नहटाए महाभियोग लगाएर हटाउने बताएकी थिइन् । यससँगै तल्लो संसद्मा ट्रम्पविरुद्ध दोस्रोपटक महाभियोगको प्रस्ताव अघि बढेको छ ।

ट्रम्पलाई महाभियोग लगाउने प्रस्तावबारे तीव्र गतिमा काम भइरहेको समयमा तल्लो सदनले राष्ट्रपति ट्रम्पलाई हटाउने प्रस्ताव पारित गरेको हो । बुधबार तल्लो सदनमा राष्ट्रपतिमाथि महाभियोगबारे पनि मतदान हुनेछ । गत साता अमेरिकी संसद भवन क्यापिटोल हिलमा हिंसात्मक प्रदर्शनका लागि आफ्ना समर्थकहरुलाई भड्काएको आरोपमा उनीमाथि महाभियोग प्रस्ताव दर्ता गरिएको हो ।

यसअघि डेमोक्रेटिक पार्टीका नेताहरुले उपराष्ट्रपति माइक पेन्सलाई २५ औं संशोधनअनुसार आफ्नो अधिकार प्रयोग गरी ट्रम्पलाई पदबाट हटाउन आग्रह गरेका थिए । अमेरिकाको तल्लो सदनमा ट्रम्पलाई हटाउँदै उपराष्ट्रपति पेन्सलाई सक्रिय बनाउने विषयमा मतदान हुनुभन्दा केही समयअघि पेन्सले तल्लो सदनलाई पत्र पठाउँदै यो योजनामा आफू सहमत नरहेको बताएका थिए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  २ : ५८ बजे