१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भारतमा ज्ञानेन्द्रलाई राजाकै सम्मान



  • सन्तलाल रिसाल

न्यूयोर्क, अमेरिका । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलसहितको पूर्व राजपरिवारको टोली भारतको उत्तराखण्ड राज्यअन्तर्गत हिन्दुहरुको प्रमुख धार्मिक स्थल हरिद्वारमा आयोजना हुने महाकुम्भमा सहभागी भएको विषय अहिले विशेष चर्चामा छ ।

पूर्वराजा शाह दम्पतीले चैत ३० गते हिन्दू सम्राटको हैसियतमा गंगामा शाही स्नान गर्नुभयो । हरेक १२ वर्षको अन्तरमा भारतमा महाकुम्भ मेला लाग्ने गर्छ। यस पटक महाकुम्भको मार्च ११ मा पहिलो शाही स्नानभयो । सबैभन्दा पहिला साधु–सन्तले गंगामा डुबुल्की लगाएर शाही स्नानको सुरुवात गरे । दोस्रो पटकको शाही स्नान चैत ३० मा भयो । यही दिन पूर्वराजा शाहलाई महाराजाको मान र दरबार, नेपाली झण्डासहितको रथबाट शाही जुलुससहित सम्मानपूर्वक शाही स्नान गराइयो ।

लेखक

भारतीय सञ्चार माध्यमका अनुसार यो पहिलो मौका हो कुनै देशको राजाले सन्तहरुसँगै कुम्भ मेलामा शाही स्नान गरेको । पूर्वराजा ज्ञानेन्द्रले यसलाई आफ्नो सौभाग्य भन्नुभएको छ ।

हरिद्वारमा पूर्वराजा शाहलाई उत्तरखण्डका मुख्यमन्त्री तीरथसिंह रावतले नेपालका राजाको हैसियतमा विशेष स्वागत गर्नुभयो । त्यसै अनुसार शाही टोलीको सुरक्षा प्रबन्ध मिलाइएको थियो ।

शाही स्नानलाई राजयोगी स्नान पनि भनिन्छ। धार्मिक कथा अनुसार देवताहरु र राक्षसहरुद्वारा समुद्र मन्थनपछि अमृत कलश भेटियो । जसलाई पाउन दुवै पक्षबीच लडाई भयो। गरूड अमृत कलश लिएर आकाशमा उड्दा बीचमा हरिद्वार, इलाहाबाद, नासिक र उज्जैन गरेर ४ स्थानमा अमृत खस्यो । यसकारण भनिन्छ कि कुम्भ मेलाका क्रममा शाही स्नान गर्दा अमरत्व प्राप्त हुन्छ।
हरिद्वारका वरिष्ठ स्वामी कैलाशानन्द गिरीले पत्र पठाएर पूर्वराजा शाहलाई महाकुम्भमा सहभागी भई माता गंगामा स्नान गरी भारतवर्षका उत्कृष्ट ऋषि मनीषिसँग आशीर्वाद ग्रहण गरी आफ्नो मुलुकको कुशलताका लागि आशिष प्राप्त गर्न अनुरोध गर्नुभएको थियो ।

शाही स्नान कार्यक्रममा स्वामी कैलाशानन्द गिरी, उत्तरखण्डका मुख्यमन्त्री रावत, केदारनाथका पिठाधीशलागायत साधु सन्त उपस्थिति थिए ।

हरिद्वारमा पूर्वराजा शाहले दक्षिणकाली मन्दिर पहुँचमाईको दर्शन गर्नुभयो भने निरञ्जनी अखाडाका आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरी महाराजबाट आशीर्वाद लिनुभयो ।

विश्व हिन्दू महासंघका महासचिव अस्मिता भण्डारीका अनुसार शाही स्नान विशेष मुर्हतमा गर्ने स्नान हो । राजा, महाराजा, ठूला ठूला शंकराचार्यहरुले मुर्हत हेरेर स्नान गर्ने परम्परा छ।
भण्डारीले हरेक पटकको भ्रमणमा भारतले ज्ञानेन्द्र शाहलाई राजाकै हैसियतमा व्यवहार गरेको र सम्मान दिएको स्मरण गराउनुभयो ।

भण्डारी सन् २०१८ फेब्रअरीमा पूर्वराजा शाहको उडिसास्थित पुरी भ्रमणमा सँगै जानुभएको थियो । त्यहाँका शंकराचार्यले ज्ञानेन्द्रलाई राजाकै हैसियतमा आमन्त्रण गरेको र राजकीय भ्रमण गराएको भन्दै भण्डारीले राज्यको मुख्यमन्त्री नै स्वागतमा आएको स्मरण गर्नुभयो ।

त्यसअघि नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने शुभेच्छा राख्ने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनवरीमा लखनउमा ज्ञानेन्द्र शाहलाई राजाकै हैसियतमा आमन्त्रण गरेर ‘नेपालका नरेश’ भनेर सम्मान गर्नुभएको थियो ।

नेपालमा अहिले राजनीति तरल अवस्थामा छ । निर्वाचित सरकारले गुमाउँदै गएको जनमत, कमजोर धरातलमा उभिएको प्रतिपक्षी दल र अहिलेको राजनीतिक खिचातानीले धार्मिक यात्रामै गएको भए पनि राजाको तीर्थयात्रालाई निकै महत्वका साथ हेरिएको छ । भारतमा मोदी सरकार हिन्दुत्वको अभियानमा सक्रिय छ जसले नेपालको ’नरेश’लाई ’विष्णुको अवतार’का रुपमा व्याख्या गर्दै आएको छ।

केन्द्रमा नेतृत्व गरिरहेको भारतीय जनता पार्टी हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)सँग सम्बन्धित सरकार हो। त्यसकारण एउटा हिन्दु सेन्टिमेन्ट बोकेको पार्टीले संसारभर हिन्दुत्वका लागि काम गर्नु, अगाडि बढाउनु उसको सिद्धान्त नै हो ।

नेपालमा राजसंस्थाका पक्षमा आवाजहरु बढ्दै गएको, दलहरुप्रति वितृष्णा बढ्दै गएको बेला भारतको सदासयता विशेष महत्वपूर्ण छ ।

हरिद्वारमा शाहको भारतका महाराष्ट्रका गभर्नर भगतसिंह कोश्यारी, केन्द्रीय रक्षामन्त्री राजनाथ सिंह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, बिजेपी महासचिव राम माधव लगायतसँग शिष्टाचार भेट गर्नुभयो । मुख्यमन्त्री योगीसहित बिजेपीका नेताहरु नेपाल हिन्दु राष्ट्र हुनुपर्ने धारणा राख्दै आउनुभएको छ ।

हिन्दूवादी नेता योगीको राज्य उत्तर प्रदेशमा २०२२ मा विधानसभा चुनाव हुँदैछ। नेपालमा हुने हिन्दुवादी गतिविधि र राजसंस्थाको आवाजले योगीको एजेण्डालाई पनि बल मिलेको छ । उताको चुनाव अगावै नै नेपाल हिन्दु राष्ट्र भए आफूलाई पनि नैतिक बल प्राप्त हुने योगीको बुझाइ रहेको उहाँ निकट जानकार बताउँछन्। त्यसो त बिजेपी विस्तारै विस्तारै भारतलाई हिन्दुहरुको वर्चश्व रहेको दुनियाँकै ठूलो राष्ट्र बनाउन अग्रसर छ। यस्तो बेला भाजपाका शीर्ष नेताहरु र पूर्व राजाको एकै समयमा भएको हरिद्वार यात्रालाई अर्थपूर्णमा हेरिएको छ।

विदेशीको दबाबमा डलर खाएर नेपालका दलाल नेताहरुले दोस्रो जनआन्दोलनको मागविना नै राजतन्त्र फाले । तैपनि रक्तपात नहोस् भनी राजा ज्ञानेन्द्रले सहजै सत्ता हस्तान्तरण गर्नुभयो । त्यस पछिका दलाल सरकारहरुले पूर्वराजाको हैसियतमा दिइएका सुरक्षा तथा सुविधा पनि धमाधम खोसिरहेको छन् । गणतन्त्रका नाममा नेताहरुले मुलुक लुटे, देशलाई हरिकंगाल बनाए, जनता बेरोजगार र गरिब बने जसले गर्दा अहिले जनमानसमा भने पूर्वराजसंस्थाप्रति आस्था र आकर्षण उल्लेख्य रुपमा बढेको छ । गणतन्त्रसँगै देशमा आएको संघीयताले ‘टोलटोलमा राजा रजौटा’ जन्माएपछि ‘बरु एउटै राजाको शासन ठिक’ भन्ने खालको मनोभावना जनतामा विकास भइरहेको छ । यससँगै पूर्वराजाको लोकप्रियता बढिरहेको छ ।

यस्तो पृष्ठभूमिमा भारतले आफ्नो देशमा आयोजना हुने सबैभन्दा ठूलो धार्मिक कार्यक्रममा नेपालका पूर्वराजालाई विशिष्ट अतिथिको रुपमामात्र निम्त्याएन पूर्व होइन, ‘बहालबाला’ राजाकै हैसियत दिएर व्यवहार गर्यो । निमन्त्रणपत्रदेखि मेलामा टाँगिएका पर्चा–पम्लेट सम्ममा पूर्वराजालाई ‘नेपाल नरेश’ वा ‘हिन्दू सम्राट’ भनिएको छ, पूर्वराजा नलेखिकन ।

पूर्वराजालाई पठाइएको निमन्त्रण पत्रको ‘विषय’ छः ‘वैदिक सनातन धर्म हिन्दूका हिन्दू सम्राटलाई पवित्र भूमि हरिद्वारमा निमन्त्रणा ।’ निमन्त्रणपत्रको भाषा यस्तो छ, ‘तपाईं श्रीमान हिन्दू सम्राट एवम् हिन्दू राजा भएका कारणले मेरो प्रबल इच्छा छ कि दिनाङ्क १२.०४.२०२१ मा हुने शाही स्नानमा तपाईं सहभागी भएर गंगामा स्नान गरिकन भारतवर्षका ऋषि मनिषिबाट आशिर्वाद ग्रहण गरी आफ्नो राज्यको कुशलता हेतु आशीष प्राप्त गर्नु, किनकी राजा स्वयम् देवस्वरुप हुन्छन् र तपाईंमाथि देवाधिदेव महादेव पशुपतिनाथ भगवानको अपार कृपा प्राप्त छ ।’ भारतका हिन्दूस्तान टाइम्स, डीएनआइजस्ता प्रख्यात मिडियाले समेत ज्ञानेन्द्रलाई ‘नेपालका राजा’ भनेर समाचार लेखेका छन् ।

यो कुम्भमेला कुनै एउटा संस्थाले आयोजना गरेको सानो धार्मिक अनुष्ठान होइन । आयोजकमा ज–जसको नाम उल्लेख भए पनि यो मेलाको अन्तिम जिम्मेवार भारत सरकार नै हो । उत्तराखण्डको सरकारले मेलामा सुरक्षा लगायत सबै व्यवस्थापन गरेको छ । उत्तराखण्डका मुख्यमन्त्रीले पूर्वराजाको आगमनमा स्वागत सन्देश दिनुभयो ।

दक्षिणकाली मन्दिरमा आयोजित स्वागत कार्यक्रममा सम्वोधन गर्दै आचार्य बालकृष्णले राजतन्त्रको अन्त्य भएपछि नेपाल दुरवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई आशा छ कि नेपालमा राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापित हुनेछन् ।’ कैलाशानन्द गिर भन्नुभयो, ‘हामी शाहलाई फेरि नेपालको राजा बन्न आशिर्वाद दिन्छौँ । उहाँलाई सघाउन हामी काठमाडौँ पनि जानेछौँ ।
कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रले नेपाली भाषामा सम्बोधन गर्नुभयो । कार्यक्रमपछि पत्रकारसँग पनि उहाँले नेपालीमै प्रश्नोत्तर गर्नुभयो । पत्रकारले हिन्दीमा सोधेका प्रश्नका उहाँले नेपालीमा जवाफ दिनुभयो । उहाँले जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी भन्नुभयो ।

नेपालको राजनीतिक अहिले तरल अवस्थामा छ । सरकार चल्न पनि नसकेको र ढल्न पनि नसकेको अवस्थामा आगामी विकासक्रम भारतको ‘रोल’ मा निर्भर हुने धरैले ठानिरहेका छन् । कतिपय राजावादीले चाहिँ भारतले नेपालमा हिन्दू राज्य र राजतन्त्र फर्काउन भूमिका खेलिदिने आशा गरेका छन् । भारत सकारात्मक भएको यो अवस्थामा नेपालमा राजतन्त्र फर्काउने हो भने नेपालीले निर्णायक भूमिका खेल्नुपर्छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ६ : २८ बजे