१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

म्यानमारका रोहिङ्गा विद्रोहीद्वारा एक महिने युद्धविराम घोषणा, ज्यादति हल्लामात्र–सुकी  


२५ भाद्र २०७४, आइतबार  

0
Shares

याङ्गुन । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस बङ्गलादेश विस्थापित भएपछि रोहिङ्गा लडाकूहरुले आइतबार एकपक्षीय रुपमा एक महिने युद्धविरामको घोषणा गरेका छन् ।  “अराकान रोहिङ्गा सल्भेसन आर्मी (एआरएसए) ले सरकारी सेनाको आक्रमणबाट बच्न अस्थायी युद्धविराम घोषणा गरेको छ”, एआरएसएले आफ्नो आधिकारिक अकाउन्टमा ट्विट गरेको छ ।
युद्धविरामका बेला मानवीय सहायतका लागि युद्धबाट प्रभावित क्षेत्रमा जान पनि पाइने व्यवस्था गरिएको पनि उक्त ट्विटमा उल्लेख गरिएको समाचारमा जनाइएको छ ।  सम्पूर्ण सहयोगी निकाय तथा मानवताबादीहरुले मानवीय संकटमा परेका पीडितहरुलाई सहयोग गर्न सक्नेगरी खुल्ला गरिएको सो समुहले जनाएको छ । युद्धविराम आउदो अक्टोबर ९ तारिख सम्म मात्र रहने पनि उक्त संगठनले स्पष्ट पारेको छ ।  यस विषयमा म्यानमार सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन । दुई हप्तादेखि भइरहेको हिंसामा परी ठूलो सङ्ख्याका रोहिङ्गा समुदायका मानिसहरु विस्थापित भएकाले मानवीय सहायताको आवश्यकता देखिएको छ ।
एआरएसएले सिधै पाठकसम्म पुग्नेगरी ट्विटरबाट वक्तव्य दिएको यो पहिलो पटक हो । आइतबार जारी वक्तव्यमा अटा गल्लाहले हस्ताक्षर गर्नुभएको छ । उहाँ म्यानमार र बङ्गलादेशको सिमाना क्षेत्रमा खटिएका ती लडाकूहरुका कमाण्डर हुनुहुन्छ ।
सुरुमा स्थानीय हाराकाह अल याक्विनका नामबाट चिनिने एआरएसएले गत अगस्ट २५ को आसपासमा उत्तरी राखिन राज्यका झण्डै ३० ओटा प्रहरी कार्यालयमा हजारौँ लडाकूलाई परिचालन गरेर आक्रमण गरेको थियो ।
बङ्गलादेशमा विस्थापित भएका रोहिङ्गा शरणार्थीहरुले सुरक्षाकर्मी र राखिनका आदिवासी बौद्धमार्गीहरुले सयौँ गाँउमा आगजनी गरेका थिए । राखिन राज्यमा रोहिङ्गा मुस्लिम समूदायमाथि भएको यस आक्रमणका कारण दशौँ हजार व्यक्ति राखिन राज्यभित्र नै विस्थापित भएका छन । विस्थापित यी व्यक्तिहरु पहाडी इलाकामा खाद्य पदार्थ, पानी, आवास र औषधि उपचार विना नै बसेका छन् ।
म्यानमार सरकारले भने उनीहरुमाथि त्यस्तो कुनै हिंसा नभएको दाबीगर्दै आएको छ । सरकारले हल्लाको पछि नलाग्न र देश छोडेर नभाग्न सबैसँग बारम्बार आग्रह पनि गर्दै आएको छ ।

ज्यादति भएको भन्नु हल्लामात्र–सुकी

म्यानमारका बिदेशमन्त्री एवम् म्यानमार राज्यका राज्य सल्लाहकार आङ सान सुकीले रोहिङ्गा समुदायका नागरिकमाथि यहाँको सरकारले ज्यादति गरेको भनी दुष्प्रचार मात्र गरेको बताएकी छन् ।
पछिल्लो समयमा म्यानमारका केही सोसियल मिडिया एवम् विदेशी मिडियाले सैनिक ज्यादती भएको भनेर यसको गलत रुपमा प्रचार गरिरहेका बताइएको समाचारमा जनाइएको छ ।
उनले त्यस समुदायका नागरिकका बस्तीमा आगजनी गरिएको भन्नेजस्ता समाचारहरु आएकोमा त्यसको खण्डन गरेकी  छन् । विदेशमन्त्री सुकीले ती समाचारहरु आतङ्ककारीलाई सहयोग पुग्नेगरी आएका गुनासोगर्दै त्यस्तो कुनैपनि ज्यादतीको समाचार आफूले थाहा नपाएको पनि स्पष्ट गरेको प्राप्त समाचारमा जनाइएको छ । रासस÷एएफपी

प्रकाशित मिति : २५ भाद्र २०७४, आइतबार  ५ : ११ बजे