६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

किम्फबाट उठेको रकम दुर्गम गाउँको विद्यालयलाई


१८ कार्तिक २०७४, शनिबार  

0
Shares

एभरेस्ट टाइम्स/हेलम्बु

अमेरिकाको न्युयोर्कमा प्रकाशन हुदैं आएको एभरेस्ट टाइम्स पत्रिकाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित वडा ६ अन्तर्गत इचोकको घोप्टेघ्याङमा रहेको ज्याम्बेयाङ प्राविलाइ नगद सहयोग प्रदान गरेको छ ।

भूकम्पपछि पनि कुनै सहयोग नपुगेको र विकट उक्त स्थानमा पत्रिकाका प्रधानसम्पादक आङछिरिङ शेर्पाले १ लाख ५० हजÞार ५५ रूपैयाँ कात्तिक ९ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमा ह्योल्मो शेर्पालाइ प्रदान गरेका हुन् । एभरेस्ट टाइम्सले काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभल(किम्फ) अन्तर्गत ट्राभलिङ किम्फ न्युयोर्कबाट उठेको रकमबाट किम्फलाई एक लाख प्रदान गरेपछि बाँकी रहेको रकम विद्यालयलाई प्रदान गरिएको प्रधानसम्पादक शेर्पाले बताए । शेर्पाले भने, ‘फिल्म देखाएर बचेको रकम स्कुलको शैक्षिक विकासका लागि दिन पाउँदा निकै खुसी लागेको छ, विकटको स्कुललाई सहयोग गर्न पाउनु गर्वको कुरा हो ।’

राजधानी काठमाडौंसँग जोडिएको जिल्ला भएपनि उक्त स्थान विकट रहेको र अझैसम्म कुनै सहयोग पुग्न नसकेको जानकारी आएपछि सहयोगका लागि उक्त स्थानमा पुगेको शेपाले जानकारी दिए ।

विद्यालयले प्राप्त गरेको सहयोग विद्यालयको भवन बनाउन प्रयोग गरिने समितिका अध्यक्ष ह्योल्मोले बताए । ‘भूकम्पपछि स्कुलको भवन भत्केको र अझै बनेको छैन, कतैबाट सहयोग पनि मिलेको छैन, अब यही रकममा अरु थपेर भवन बनाउनेछौं,’ उनले भने । कक्षा ५ सम्मको पढाई हुनुपर्ने विद्यालयमा भवन नहुदाँ र शिक्षक कम हुदाँ विद्यार्थी घट्दै गएको उक्त वडाका वडाध्यक्ष सुकुराम तामाङले स्विकारे । उक्त स्थानबाट अर्को स्कुल पुग्न तीन घन्टा पैदल हिड्नुपर्ने भएकोले ज्याम्बेयाङको अर्को विकल्प नरहेको उनी बताउँछन् । विद्यालयमा दरबन्दीका दुईजना शिक्षक मात्र रहेको वडाध्यक्ष तामाङले जनाए ।

विद्यालयलाई पटकपटक मर्ज गर्न खोजिएको र स्थानीयको विरोधपछि विद्यालय सोही स्थानमा रहेको दावासोनाम शेर्पाले बताए । उनले भने, ‘धनीहरु सहर झर्छन्, राम्रो स्कुलमा पढ्छन्, हामी त सक्दैन, घर छेवैमा स्कुल भए हाम्रा छोराछोरीको आँखा खुल्छ, त्यसैले हामी स्कुल सार्न दिदैनौ ।’ अहिलेसम्म स्थानीय स्रोतकै आधारमा विद्यालय सञ्चालन भइरहेकोमा किम्फबाट प्राप्त रकमले उत्साहित भएको उनले बताए ।
गाउँपालिकाले पनि थप सहयोग गरी विद्यालयको भवन बनाइने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले वचन दिए । स्थानीय समाजसेवी टासी ह्योल्मोको सहयोगमा विकट विद्यालय छनोट गरिएको थियो ।

हिमाल एसोसिएसन र एभरेस्ट टाइम्सको आयोजनामा गत जुलाइमा न्युयोर्कमा किम्फ आयोजना गरिएको थियो । पत्रिकाले यसअघि पनि दुईपटक फिल्म महोत्सव आयोजना गरिएको थियो । यसअघि पत्रिकाले सोलुखुम्बुको चागेस्थान मावि केरुङ र सेर्गा वागाम प्रविलाई सहयोग गरेको थियो ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७४, शनिबार  ९ : १५ बजे