७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

विश्व शान्तिको कामनासहित अमेरिकामा ल्हाप्सो


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

एभरेस्ट टाइम्स

न्युजर्सी । शेर्पा समुदायले हरेक वर्ष मनाउदै आएको ल्हाप्सो कार्यक्रम यस पटक पनि भव्यताका साथ सम्पन्न भयो । न्युजर्सिस्थित छेचु कुन्सेलिङ गुम्बामा गत आइतबार सम्पन्न यस पटकको ल्हाप्सोमा अहिलेसम्मकै धेरै सहाभागीता रहेको आयोजकहरुले जनाएको छ । उनीहरुको अनुसार कार्यक्रम स्थलमा २१ वटा बस र २ सय प्राइभेट कारबाट गरि करिब २ हजार जनाको सहाभागीता रहेका थिए ।
सहाभागीहरु न्युयोर्क, न्युजर्सि, कनेटिकेट, बोस्टन लगायतका राज्यहरुबाट आएका थिए ।

कार्यक्रम स्थलमा जान लागी सहाभागीहरुको लागी न्युयोर्कको क्न्सिस्थित ज्याक्सन हाइटको सिक्सटि नाइनको उडसाइड र रुजभेल्टबाट २१ वटा बसहरु लाइन लागेका थिए । न्युयोर्कबाट करिब दुई घण्टाको यात्रापछि पुगेको ल्हाप्सो स्थलमा सहाभागीहरु विहानै पुगेका थिए । त्यहा पुग्ने वितिकै पाहुनालाई ल्हाप्सु आयोजकको तर्फबाट कन्याहरुले छिमार, सेरकिम र खाप्साले स्वागत गरिरहेका थिए । टासिदेलेकको न्यानो अभिवादनसंगै ल्हाप्सो आयोजक समितिका सदस्यहरुले उपस्थित सवै अतिथिहरुलाई चिया, डेसिल र छङग्युरले स्वागत गरेका थिए । कार्यक्रममा अमेरिकाको विभिन्न राज्यहरुबाट आएका शेर्पाहरुसंगै विभिन्न समुदायको उपस्थिति थिए ।

शेर्पा किदुगको ल्हाप्सो आयोजक कमिटिले हरेक वर्ष वार्षिक रुपमा ल्हाप्सो कार्यक्रमको आयोजना गदै आएको छ । विगतमा ल्होसार आगमानको पहिलो हप्तामा हुदै आएको ल्हाप्सो जाडो मौसमको कारण गत वर्षदेखिन ल्होसार सकेको केही महिनापछि हुदै आएको छ । ‘ विगतको जाडोमा भएको ल्होसार ल्हाप्सोमा बालबालिका र बृद्धालाई निकै दुख भोग्नु परेको र आयोजकलाई कष्ट र खर्चिनु परेकोले किदुगसगको सल्लाह अनुसार हामीले यस पटक मे महिनामा गरेको हो ’ ल्हाप्सो आयोजक समितिका सदस्य पेमा शेर्पा खम्बाचेले भने—‘ ल्होसार शुरु भए लगतै ल्होसार ल्हाप्सो हामीले किदुगको गुम्बामा पुजा गरि ध्वजा गाडने कार्य गरिसके पनि सामृहिक रुपमा धार्मिक र सास्कृतिक परम्परालाई निरन्तरता दिनका लागी खुल्ला ठाउमा यतिखेर ल्हाप्सो गरेको हो ’ ।


यस पटक पनि विगतमा झै गुम्बामा विहानीपुजापाठ सकेर लामाहरुको धार्मिक नृत्यहरु प्रस्तुत गरेका थिए । त्यस्तै सहाभागीहरुले आफनो साथमा ल्याएको लुङदा टागेका थिए । विहानपुजा र लुङदा टागेवितिकै सवै जनाले हातको पिठो आकाशमा छर्केर क्ये क्ये स्हो स्हो ल्हा गेलो भगवानको जयजयकार गरेका थिए । त्यस लगतै दिउसोको खाना सकेर उनीहरु शेर्पा लोक सस्कृति झल्कने सेब्रु नृत्य गरेका थिए । उक्त अवसरमा आचार्य ङवाङ सांगेले बुद्ध धर्मको बारेमा शिक्षा दिएका थिए ।

कार्यक्रममा सहाभागीहरुले शेर्पा किदुगलाई ३२ हजार डलर सहयोग गरेका थिए । सहयोगीहरुलाई किदुगका अध्यक्ष उर्गेन शेर्पा तथा शेर्पा कल्चर सेन्टरका संयोजक कल्साङ छोपेलले धन्यवाद ज्ञापन गरेका थिए । ल्हाप्सो कार्यक्रम सफलताका साथ सम्पन्न गरेकोमा सहाभागीहरुले ल्हाप्सोको आयोजकहरुलाई खादाले धन्यवाद ज्ञापन गरेका थिए ।


यस पटकको ल्हाप्सो आयोजकहरुमा पासाङछिरिङ पिनासा शेर्पा ज्याल्सा सोलुखुम्बु, सोनामछिरिङ पिनासा शेर्पा बौद्ध फुलबारी काठमाडौ , दावा गोपर्मा शेर्पा छेस्काम सोलुखुम्बु , थुप्तेन ल्हाकसिन्दोक शेर्पा नाम्चे सोलुखुम्बु ,सोनाम लामा शेर्पा गुप्चे लिस्ती सिन्धुपाल्चोक , कामी पिनासा शेर्पा गार्मा नेमार सोलुखुम्बु , दावा गर्जा शेर्पा बिगु दोलखा पेमा खम्बाचे शेर्पा सल्लेरी सेर्गा सोलुखुम्बु , पेम्बाछिरि टाकटोक शेर्पा खरिखोला सोलुखुम्बु , ङवाङ पिनासा शेर्पा च्याङमितेङ सोलुखुम्बु र मिङमा सालाका शेर्पा दिक्तेल खोटाङ रहेका थिए ।

उनीहरुले आगामी वर्षको लागी नया आयोजक त्यही दिन छनौट गरेका थिए ।

तस्विरहरु आङकामी शेर्पा फोटोहेरा डटकम

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ५ : २७ बजे